सर्लाही,वैशाख-१६,जिल्लाकाे बागमती नगरपालिकाले निर्माण गरिदिएको पहरी बस्ती शनिवार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
गृहमन्त्री श्रेष्ठ र बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले संयुक्त रुपमा पहरी बस्तीकी बयोवृद्धा ठूलिमाया पहरीलाई बस्तीको साचो हस्तान्तरण गरेका हुन् ।


पहरी समुदाय उक्त स्थानमा सेउलाले बेरेर बनाएको घरमा बस्दै आएका थिए । पहरी समुदायका ७० जना सदस्य रहेको १३ परिवारलाई एक करोड ५३ लाख रुपैयाँको लागतमा टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हाे । बस्तीमा शौचालयसहितको ३ कोठे घर निर्माण गरीएकाे छ । पक्की घर निर्माण गरी हस्तान्तरण गरेपछि पहरी समुदाय दंग परेका छन् ।
मधेश प्रदेश सरकारको ३० लाख र नपुग रकम बागमती नगरपालिकाको बजेटबाट पहरी बस्ती तयार पारिएको हो ।
बस्ती हस्तान्तरण कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडक जति नै पहुँचवाला र स्थापित भए पनि सरकारले नछाड्ने बताएका छन् ।


उनले मिटरब्याजी जस्ता शोषकको पक्षमा लाग्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने बताएका हुन् ।मिटरब्याजविरुद्ध सरकारले आयोग गठन गरी नयाँ कानून ल्याएर काम गर्ने गरी प्रक्रिया अघि बढाइसकेको बताए । मिटरब्याजीको पक्षमा कुनै पनि पार्टीका कार्यकर्ता देखा परे भने उ जति सुकै सम्पन्न, पहुँचवाला वा स्थापित होस्, त्यस्ता कसैलाई पनि नछाड्ने उनको भनाइ थियो ।
यता शनिवार नै लालबन्दी ७ स्थित पार्टी प्यालेसमा आयाेजित माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको प्रथम मधेश प्रदेशस्तरीय भेलालाई माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सम्वोधन गरे । भेला शनिवार (आजै) सम्पन्न भएको छ । लगत्तै बागमती फर्किएका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सशस्त्र द्वन्द्वका क्रममा सर्लाही सर्लाहीबाट प्रथम सहीद भएका इन्द्र कोइरालाको परिवारलाई पार्टीले निर्माण गरिदिएको घर हस्तान्तरण गरे ।
माओवादी नेताहरुकाे सहयोगमा स्वर्गिय कोइरालाको परिवारका लागि ३ कोठाको एक तले पक्की घर निर्माण गरिदिएका हाे।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ प्रेस सेन्टर सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सहभागी महाेत्तरी हुदै जनकपुर प्रस्थान गरेका छन् ।