सर्लाही/वैशाख–१५, सर्लाहीको मानपुरमा बागमती नदी ड्यामभित्रको ढुंगा, गिट्टी बालुवा अवैध उत्खनन् गरी खुलेआम विक्री वितरण गरेको पाइएको छ ।
जिल्लाको दक्षिण पश्चिम भेगमा पर्ने बसबरिया गाउँपालिका १ र २ नम्बर वडाको बागमती नदि किनारका ड्यामभित्रको जमिनबाट आफूखुशि ढुंगा, गिट्टी बालुवा उत्खनन् गरी जिल्ला सदरमुकाम मलंगवासहित सीमाक्षेत्रहरुसम्म समेत खुलेआम विक्री वितरण भइरहदा समेत प्रशासनले भने कुनै चासो नदिएको पाइएको छ ।
स्थानीयको भनाई अनुसार सो क्षेत्रबाट दैनिक सयौं ट्याक्टर ढुंगा, गिटी बालुवा निकासी हुने गरेको छ । उनीहरुले सो क्षेत्रमा स्काभेटर नै प्रयोग गरेर पोखरी खन्ने बाहानामा प्राकृति स्रोतको चरम दोहन गरिरहदा समेत प्रशासनले चासो नदेखाउनु दुःखद् रहेको बताएका छन् ।
उत्खनन्मा संलग्नहरुले सम्बन्धित निकायको इजाजत विनै स–साना (झरना) क्रसर नै सञ्चालन गरेका छन् । स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन गराएर नदी ठेक्का लगाउनु पर्ने भएपनि बसबरिया गाउँपालकाले भने यस्तो गरेको पाइएन । उत्खनन् गरिरहेका (झरना) क्रसरहरु घरेलु तथा साना उद्योग कार्यालयमा समेत दर्ता नरहेको घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्ताले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले अवैध उत्खनन् तुरुन्त रोक्न मातहतका युनिटहरुलाई निर्देशन दिने बताए । उनले आजै सो क्षेत्रको उत्खनन् रोकिने समेत बताए ।
यता गाउँपालिकाका प्रमुख रामसिंहासन रायले यसविषयमा आफूलाई जानकारी नै रहेको र उत्खनन् गरिएका ढुंगा, गिटी बालुवा स्थानीयसहित छिमेकी पालिकाहरु, सीमावर्ती क्षेत्र तथा सदरमुकाम मलंगवासम्म पनि विक्री हुने गरेको स्वीकार गरे । उनले कानूनी रुपमा नभई व्यवहारिक हिसाबले गिट्टी बालुवा उत्खनन् नरोकेको बताए ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले त्यस क्षेत्रमा आफूहरु अनुगमनमा जाँदा त्यस्ता उद्योगहरु बन्द रहेको पाइएको बताउँदै प्रशासनको आँखा छली कसैले अवैध उत्खनन् गरेको पाइए तुरुन्त प्रहरी परिचालन गरी बन्द गराइने बताए । उनले जिल्लाका ११ ओटा अवैद्य क्रसर उद्योगहरुलाई यसअघि नै बन्द गर्न निर्देशन दिइसकिएको बताए । कानूनी प्रक्रिया नपुगेका अन्य उद्योगहरुको हकमा पनि सरकारले असार मसान्तभित्र प्रक्रिया पूरा गर्न समयसिमा दिएकोले सो अवधिमा प्रक्रिया पूरा नगरे कानून अनुसार कार्वाही गरिने बताए ।
यता जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले बिदामा रहेका प्रमुख जिल्ला अधिकारी आउनसाथ अनुगमन समितिको वैठक बसी तत्काल त्यस्ता अवैध गतिविधिमा रोक लगाउन निर्णय गरिने बताए ।