सर्लाही,वैशाख -१३,भारतको मथुरा जिल्लामा पर्ने वृन्दावन धार्मिक हिसावले प्रसिद्ध भूमि हो । द्वापर युगमा भगवान श्रीकृष्णले गाई चराएको र बाल्यकाल यही विताएकोले यो धार्मिक हिसावले निकै नै प्रसिद्ध छ । आज पनि वृन्दावनको अवलोकन र भ्रमणका लागि संसारभरका मानिसहरु वृन्दावन पुग्ने गर्दछन् ।


यता नेपालको सर्लाही जिल्ला कविलासी नगरपालिका १० पिडार चोकमा मिनी वृन्दावनको परिकल्पनासहित श्री राधाकृष्ण दिव्यधाम निर्माण गरिने भएको छ ।
दिव्यधाम निर्माणका लागि आगामी जेष्ठ मासमा यहाँ ऐतिहासिक विराट श्रीमद भागवत महापुराण अष्टोत्तर शत्(१०८) सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।
भक्तिसागर फाउण्डेशन, अष्टोत्तर महायज्ञ मूल समारोह समितिले आयोजना गर्न लागेको ऐतिहासिक महायज्ञमा आचार्य श्री सागर जी महाराज प्रमुख वाचक रहनुहुनेछ । यहाँ मिनी वृन्दावन निर्माण गर्ने उदेश्यहेतु महायज्ञ आयोजना गर्न लागिएको प्रमुख वाचक आचार्य श्री सागरजी महाराज र महायज्ञ संयोजक पुरुषोत्तम झाले महायज्ञ आयोजना स्थलमै पत्रकार सम्मेलन गर्दै जानकारी दिए।


महायज्ञबाट ५५ लाख भन्दाबढी दान सहयोग संकलन गरिने र संकलित रकमबाट(श्रीराधाकृष्ण दिव्यधाम) मिनी वृन्दावन निर्माण गरिने प्रमुख वाचक आचार्य श्री सागरजी महाराजले बताए। उनले महायज्ञ सफल बनाउनमा स्थानीय, बुद्धिजीवी, समाजसेवी, धार्मिक व्यक्तित्व र पत्रकारहरु समेतको मुख्य भूमिका हुनेभएकोले पवित्र धाम निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
त्यस्तै महायज्ञका संयोजक पुरुषोत्तम झाले दैनिक एक लाख बढी मानिसले महायज्ञको अवलोकन गर्ने विश्वास व्यक्त गर्नुभयो । उनले यो महायज्ञ साधारण भागवत कथा मात्रै वाचन गरिने महायज्ञ नभएर ऐतिहासिक महायज्ञ भएको बताए।
उनले यस क्षेत्रमै पहिलोपटक आफूहरुले यस्तोखालको महायज्ञ आयोजना गरेको बताए । उनले महायज्ञमा वृन्दावनबाट १०८ जना विद्वान ब्राह्मण गुरुहरु आउनेछन् । त्यतिमात्रै नभएर महायज्ञमा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुबो संगीतमय भजन, झाँकी लिला, देवीलिला, रासलिला आदि प्रस्तुत गरिने बताए ।
त्यस्तै महायज्ञकै क्रममा नेपालमा मात्रै पाईने शालिग्राम भगवानको शिला १००८ को दर्शन समेत गराइने बताए । महायज्ञ अवधिभर भव्य मेलाको समेत आयोजना हुने महायज्ञ मूल समारोह समितिका संयोजक झाले बताए ।
उनले आज पनि नेपालबाट हजारौं मानिसहरु वृन्दावन जाने गरेको बताउनुहुँदै यही मिनी वृन्दावन निर्माण भए यहीका मानिसहरुले लाभ लिने बताए । उनले यो पवित्र धार्मिक कार्यमा सहयोग गरिदिनुहुन सबैलाई आग्रह गरे ।