सर्लाही,बैशाख,१२,सर्लाही खण्डमा पर्ने हुलाकी सडकमा वैशाखभित्र प्राइमर हालिसक्ने निर्णय गरिएको छ । मंगलवार सदरमुकाम मलंगवा बसेको हुलाकी राजमार्ग समन्वय बैठकले वैशाख मसान्तभित्र प्राइमरको काम सक्ने निर्णय गरेको हो । काम हुन नभएका ठाउँमा पनि बेस हाल्ने ,प्राइप हाल्ने काम सक्ने र असार १५ गतेभित्र पूर्व सङ्ग्रामपुरदेखि पश्चिम बागमती सम्मकाे ४० किलोमिटर भन्दा बढी हुलाकी सडकको कालोपत्रे गरिसक्ने निर्णय भएको छ ।
यस्तो छ निर्णय 👇️
सर्लाही खण्डको हुलाकी सडक निर्माणका लागि पटकपटक यस्ता सहमती र निर्णय भइसकेका छन् । कामले पूर्णता पउन नसक्दा सडक आसपासका नागरिक कष्टकर जीवन जिउन बाध्य छन् । यात्रुलाई यात्रा गर्न मुस्किल छ।
बैठकमा निर्माण व्यवसायीले चार/पाँच वर्षअघिको ठेक्का रकममा अहिले आएर काम गर्न असाध्य गाह्रो परेको र बैङ्क तथा वित्तीय संस्थाबाट ऋण नपाएकाले पैसा अभाव भएको गुनासो गरेका छन् ।
अब कुनै पनि हालतमा बहानाबाजी नगरी जेठ अन्तिम वा नभए असार १५ सम्म जसरी पनि कालोपत्रेको काम गर्न जनप्रतिनिधि, सुरक्षा अधिकारी, नागरिक समाजलगायतबाट माग भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
अवरोध रहेको ब्रह्मपुरी, मलंगवालगायतका स्थानमा ‘साइड क्लियर’ गराउन सबैपक्ष लाग्ने निर्णय पनि भएको छ ।
बैठकले सडक र नाला निर्माण नहुञ्जेल बस्ती र बजार क्षेत्रमा निर्माण व्यवसायीले पानी पटाउने र सडकमा परेका बिजुलीका खम्बा नेपाल विद्युत् प्राधिकरणको मलंगवा वितरण केन्द्रले हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।यता हुलाकी सडक आसपासका नागरिकले भने निर्णय कार्यान्वयन हुनेमा विस्वस्त हुन सक्ने अबस्था नरहेको बताएका छन् ।