सर्लाही,वैशाख-१२, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले आगामी आर्थिक वर्षकाे बजेट मार्फत प्रदेशकाे आठवटै जिल्लाका एक हजार २७० वटा वडामा जैविक मलको साना उद्योग स्थापना गरिने बताएका छन्।
उनले पालिका स्तरमा बजार व्यवस्थापन गर्न प्रदेशको ३२ वटै क्षेत्रमा शितभण्डार निर्माण गरिने बताए ।
जिल्लाको हरिवनमा मंगलवार (आज) बाट सुरु भएको डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनीकाे उद्घाटन गर्दै मन्त्री कुशवाहाले यस्तो बताएका हुन ।
मन्त्री कुशवाहले मधेश प्रदेशमा उत्पादन भएका तरकारीलगायत अन्य कृषिउपज काठमाडौं, पोखरा, वीरगञ्ज, विराटनगरलगायत ठूला शहरमा बिक्री व्यवस्था मिलाउन आफूले पहल गरिरहेको बताए । उनले अन्नको भण्डार मधेश प्रदेशमा मलको सँधै अभाव हुनाले किसानलाई खेती लगाउनै समस्या भएकाले संघीय सरकारसँग यस प्रदेशका लागि मलको कोटा बढाइदिन आफूले पहल गरिरहेको बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै, मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहाले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउञ्जेल देश समृद्ध बन्न नसक्ने बताए । कृषि र पशुजन्य उत्पादन घट्दै जानु चिन्ताको विषय भएकाले किसानलाई प्रोत्साहन हुने खालका सहुलियत कार्यक्रम ल्याउनुपर्ने उनको तर्क थियो ।
हरिवन नगरपालिकाका प्रमुख (मेयर )रमेश बुढाथोकी को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुख राजनप्रसाद यादवलगायतले सम्बाेधन गरेका थिए ।प्रदर्शनीमा किसानसँगै कृषि तथा पशुजन्य उत्पादन र औजारका उत्पादकलाई निःशुल्क स्टल राख्ने व्यवस्था मिलाइएको प्रदर्शनीका संयोजक केशवराज थापाले जानकारी दिए । प्रदर्शनीमा विज्ञबाट माटो परिक्षण र निःशुल्क परामर्शको व्यवस्था समेत मिलाइएको छ ।
हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा हरिवनमा सुरु भएको प्रदर्शनी १४ गते सम्म चल्ने छ । प्रदर्शनीकाे नारा‘कृषि यान्त्रिकरणको वृद्धि, दुग्धजन्य एवम् कृषि उत्पादनमा नविन्तम प्रविधि’ भन्ने रहेको छ।