सर्लाही,बैशाख–९,जिल्लाको हरिवनमा शनिवार बिहान आगलागी हुँदा एउटा घर पूर्णरुमा जलेको छ । बिहान ९ बजेतिर विद्युत् सर्ट भई आगलागी हुँदा हरिवन नगरपालिका–११ का बद्री न्यौपानेको २ तले काठ, इँटा,र सिमेन्टले बनेको घर पूर्णरुपमा जलेको हो । आगलागी गाउँले र सुरक्षाकर्मीको सहयोगमा निभाइएको छ ।

आगलागी नियन्त्रणका लागि हरिवन नगरपालिकाको दमकल समेत पुगेको भएपनि दमकलमा समस्या आएपछि पानी फाल्न सकेन । आगो लागिरहेको बेला पुगेको दमकल बिग्रिएर पानी नै नफालेपछि आक्रोशित भीडले दमकलमाथि ढुंगामुढा प्रहार गरेका थिए । ढुंगामुढा प्रहारबाट प्रहरी हवल्दार शंकरप्रसाद लम्साल सामान्य घाइते भएका छन् ।
कोखामा चोट लागेर घाइते हवल्दार लम्सालको नमूना अस्पताल हरिवनमा उपचार गरिएको छ ।

यता हरिवन नगरपालिका कार्यालयले बिग्रियको दमकल तत्कालै मर्मत गरिने जनाएको छ । सर्लाहीमा पछिल्लो समय आगलागी नियन्त्रणका लागि हरिवनको दमकलमात्र प्रयोगमा आईरहेको थियो ।
न्यौपाने परिवारलाई पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको उपस्थितिमा स्थानीयले तत्काल नगद सहयोग गरि प्रदान गरेका छन् । स्थानीयले नगद २२ हजार ५ सय संकलन गरि पीडित परिवारलाई सहयोग गरेका छन् ।