सर्लाही,बैशाख -९, प्रथम राष्ट्रिय लेखक दिवसको अवसरमा सर्लाहीमा मुक्तक, कविता र गजल वाचन कार्यक्रम हुने भएको छ ।
नेपाली लेखक संघ सर्लाहीको आयोजनामा ‘हाम्रो प्रतिवद्धता, विचार अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता’ भन्ने नाराकासाथ हरिवनस्थित सगुन सहकारी संस्थाको सभाहलमा मुक्तक, कविता र गजल वाचन कार्यक्रम गरिने नेपाली लेखक संघले जनाएको छ ।


कार्यक्रममा मुक्तककार हरिकृष्ण काफ्ले, कवि कुमार दाहाल‘कुसुम’ र गजलगो सुमित्रा आचार्यले आफ्ना रचनाहरु वाचन गर्नुहुने कवि तथा नेपाली लेखक संघका केन्द्रीय सदस्य जीवन आचार्य‘निश्चल’ ले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम यही बैशाख १६ गते शनिवार दिउँसो साँढे १ बजे हुनेछ । कार्यक्रममा अन्य साहित्यकारहरुले समेत रचना वाचत गर्नेछन् ।
नेपाली लेखक संघले यसैवर्षदेखि हरेक वर्ष बैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरे अनुरुप नै सर्लाहीमा पनि दिवस मनाउन लागेको हाे । बैशाख १६ गते नेपाली भाषा साहित्यको इतिहासमा लाईबे्ररी पर्वको रुपमा परिचित विशिष्ट घटनासँग सम्बन्धित दिन हो ।


१९८७ सालमा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवम् बुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीम शमशेर समक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन (वैशाख–१६) लाई राष्ट्रिय लेखक दिवसको रुपमा मनाउन लागिएको नेपाली लेखक संघका केन्द्रीय सदस्य लेखक, कवि तथा साहित्यकार जिवन आचार्य‘निश्चल’ले बताए ।