धनुषा/बैशाख -९, देशभर छरिएर रहेका दनुवार जातीहरुको संगठन दनुवार जागरण समितिको सर्लाहीमा सम्पन्न पाँचौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारीणी समितिको पदाधिकारीहरुको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम आज मधेश प्रदेशको राजधानी जनकपुरमा सम्पन्न भएको छ ।


गएको चैत्र १७ र १८ गते सर्लाहीको ईश्वरपुरमा भएको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई आज जनकपुरधामस्थित नेपाल वार एसोसियसनको भवनमा एक भव्य कार्यक्रमको आयोजना गरी सपथ ग्रहण तथा पदस्थापन गरिएको हो ।
निर्वाचन समितिका संयोजक सरोज कुमार सिंह दनुवारको अध्यक्षता तथा सिन्धुलीको दुधौली नगरपालिकाका नगरप्रमुख मेयर दिनेश अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा समितिका नव निर्वाचित अध्यक्ष रामकुमार सिंह दनुवारसहितका पदाधिकारीहरुलाई सपथ ग्रहणसहित पदस्थापन गरिएको निर्वाचन समितिका संयोजक सरोज कुमार सिंह दनुवारले जानकारी दिए । 


सर्लाहीमा सम्पन्न पाँचौं राष्ट्रिय अधिवेशनले दनुवार अगुवा मोरङ्ग विराटनगरका रामकुमार सिंह दनुवारको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । समितिको उपाध्यक्षमा धनुषाका विरेन्द्र कुमार सिंह दनुवार, महिला उपाध्यक्षमा सुनसरीकी शान्ति कुमारी दनुवार, महासचिवमा सिन्धुलीकी चेत नारायण अधिकारी दनुवार, सचिवमा सर्लाहीका शिवकुमार सिंह दनुवार, महिला सचिवमा सिन्धुलीकी पुष्पा धामी दनुवार र कोषाध्यक्षमा महोत्तरीका राजकुमार सिंह दनुवार चयन भएका थिए ।
त्यस्तै समितिको सदस्यहरुमा उदयपुरका योगेन्द्र दनुवार, धनबहादुर दनुवार, सर्लाहीका चुल्हाई सिंह दनुवार, सत्यनारायण सिंह दनुवार, काठमाण्डौंकी सीता दनुवार, सिरहाकी अनिता कुमारी दनुवार, सुनसरीकी जीवनकला चौधरी दनुवार, सर्लाहीका दिलिपसिंह दनुवार, सप्तरीकी घुरनीदेवी दनुवार, सिरहाका विरीदेव राय दनुवार, सिन्धुलीका निर्मला कुमारी कुमर दनुवार, महोत्तरीका मनोहर कुमार सिंह दनुवार, सिन्धुलीका लालचन अधिकारी दनुवार र सर्लाहीका विरेन्द्र धामी दनुवार चयन भएका थिए ।
उनीहरुलाई दनुवार जागरण समितिको विछान २०६२ को संशोधित विद्यान २०७९ अनुसार सपथ खुवाइएको निर्वाचन समितिका संयोजक सरोजकुमार सिंह दनुवारले जानकारी दिए। विद्यान अनुसार समितिको कार्यकाल चार वर्ष अर्थात आगामी २०८४ साल सम्म हुनेछ ।
सपथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लगायतका वक्ताहरुले समितिका नव निर्वाचित पदाधिकारीहरुलाई दनुवार जातिको हकहितमा काम गर्न भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।