सर्लाही / बैशाख -९ ,वैशाख पूर्णिमा अर्थात बुद्ध जयन्ती यसवर्ष सर्लाही पनि भव्य रुपमा मनाउने तयारी भएको छ । भगवान गौतम बुद्ध जन्म, ज्ञान प्राप्ति र समाधि एक दिन अर्थात वैशाख पूर्णिमाकै दिन भएकोले यस दिनलाई बुद्ध जयन्तीका रुपमा नेपालसहित विश्वभर मनाउने गरिन्छ ।
तामाङ घेदुङ जिल्ला समन्वय समिति सर्लाहीले जिल्लाको लालबन्दीमा एक भव्य कार्यक्रमको आयोजना गरी २५६७औ बुद्धजयन्ती धुमधामका साथ मनाउने तयारी गरेको घेदुङ सर्लाहीले जनाएको छ ।
घेदुङ सर्लाहीका अध्यक्ष बुद्ध लामा थिङले यही वैशाख २२ गतेका दिन परेको बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरेको बताए।
उनले आफूहरुले गर्ने कार्यक्रम अहिले सम्मकै विशाल र भव्य कार्यक्रम हुने पनि दाबी गरे । उनका अनुसार बुद्धजयन्तीका दिन लालबन्दीमा विभिन्न साँस्कृतिक कार्यक्रम, लामा गुरुहरुबाट बुद्ध दर्शन सम्बन्धी प्रवचन, विश्व शान्तीको लागि होम पुजाका साथै विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिनेछ ।
जयन्तीका अवसरमा गरिने कार्यक्रममा मन्त्री, सांसाद, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, पालिकाका प्रमुखहरु, पत्रकारहरु र वौद्धधर्मावलम्बीसहित जिल्लावासीलाई लालबन्दीमा उतार्ने जमर्को रहेको अध्यक्ष थिङले बताए ।
उनले आफू घेदुङको नेतृत्वमा आएसँगै आफू नेतृत्वकोे घेदुङ सर्लाहीको टीमले साँच्चै राम्रो कामहरु गरेर देखाउने प्रयासमा आफूहरु रहेको बताए । उनले बुद्ध जयन्तीका अवसरमा गरिने कार्यक्रम सफल बनाउन सबै क्षेत्रले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
भगवान गौतम बुद्धको जन्म आज भन्दा २ हजार ५६७ वर्ष अघि अर्थात् इशापूर्व ५४३ मा हालको नेपालको लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लामा भएको थियो । भगवान बुद्धले जन्मिने वित्तिकै सात पाईला हिड्नु भएको थियो । ज्ञानको खोजीमा २९ वर्षको उमेर दरबार छोडेर हिड्नु भएका बुद्धले भारतको बोधगयामा महाज्ञान प्राप्त गर्नुभएको बुद्ध दर्शनमा उल्लेख छ ।
अहिले नेपालसहित संसारका भारत, श्रीलंका, वर्मा, थाइल्याण्ड, लाओस, कम्बोडिया, चिन, भुटान, भियतना, जापान, कोरिया, मङ्गोलिया लगायतका देशहरुमा बुद्ध धर्म मान्ने गरिन्छ ।