साेम दियाली/सर्लाही
वैशाख – ६,जिल्लाको पर्सा गाउँपालिका ४ का गगन महतो सुडीले ईश्वरपुर १५ स्थित पोखरी खनेपछि पोखरियाका दर्जनबढी किसान प्रताडित भएका छन् ।
आफूलाई पैसावाला र धनाढ्य भन्न रुचाउने पर्साका रामचन्द्र महतो सुडीका छोरा अन्दाजी वर्ष ४२ का गगनले पोखरी विस्तराका क्रममा आफूहरुको जमिन जबरजस्ती मिचेर सुकुम्वासी बनाई उठीवास गराएको र विरोध गर्दा ज्यानै मार्ने सम्मको धम्की दिएको पीडित किसानहरुले दाबी गरेका छन् ।


झण्डै ८/१० वर्ष अघि सुडीले रानीगञ्जका एक किसानसँग चार विगाह जग्गा किनेका थिए । उनले सो जग्गामा डेढ दुई वर्ष अघिबाट माछा पोखरी खन्न सुरु गरे ।
उनले पोखरी खनेको माटो छिमेकीको जमिनमा जबरजस्ती थुपारी दिए र त्यो जमिन गुन्द्रुकको भाउमा आफूलाई विक्री गर्न बाध्य बनाए ।
सुडीले कतिलाई थोरै पैसा दिएर कतिलाई धम्क्याएरै जमिन आफ्नो बनाउने गरेको पीडित किसानहरुले बताएका छन् । अहिले सुडीको पोखरी झण्डै ८ विगाहको भैसकेको छ ।
सुडीले पोखरी खनेको माटो आफ्नो जमिनमा थुपारेको र आफूले हटाउन आग्रह गर्दा कुटाकुट नै भएको पीडित मध्येका एक किसान मक्सुद अन्सारीले बताए ।


आफ्नो १० कट्ठा जग्गा जबरजस्ती हडपेको र बाँकी रहेको १५ कट्ठा जग्गा पनि हडप्न खोजेपछि विवाद भएको पीडित मक्सुदले बताए । उनले आफुले पटक पटक सुडीको डोजर रोक्न खोज्दा डोजरले नै च्यापेर मारीदिने धम्की दिएको बताए ।
देशमा लोकतन्त्र आईसक्दा पनि एकजना धनाढ्यहरुको हेपाहमा पर्नुपर्ने अन्याय सहनुपर्ने कस्तो विडम्बना हो ! भन्दै मक्सुदले आफूहरु अन्यायमा परेकोले न्याय दिलाई दिन सरकारसँग आग्रहसमेत गरे ।
अर्का किसान असिन अन्सारीले त सुडीको ज्यादती सहन नसकेर सस्तोमै जग्गा बेची सकेका छन् । आफूलाई बाध्य बनाएपछि जग्गा बेचेको भन्दै उनले अहिले आफू सुकुम्वासी भएको बताए ।
असिन जस्तै अर्का किसान सबीर अन्सारीको पनि पीडा उस्तै छ । उनको जग्गा पनि पोखरीमै गाभिएको छ । आफ्नो जमिनमा पनि जबरजस्ती पोखरी खनेको माटो थुपारेपछि बाध्य भएर बेच्नु परेको भन्दै उनले आफूहरुको पीडा कसैले नसुनेको गुनासो गरे ।
त्यस्तै सुडीले खनेको पोखरीका कारण हरिपूर्वाकी भुनिदेवी रामको पनि १० कट्ठा जमिन च्यापिएको छ । उनको त के सम्म भने खेतमा लगाएको मसलाका रुख समेत सुडीले थाहै नदिई काटेर लगेका र बाँकी रहेको पोखरीको माटोले पुरी दिएका पीडितकाे आराेप छ । उनले आफूले ५०औं वर्षदेखि भोगचलन गर्दै आएको जग्गा भएपनि पोखरीधनी सुडीले जबरजस्ती मिचेको भन्दै न्याय दिलाई दिन आग्रह गरिन् ।
त्यस्तै पोखरीयाका अर्का किसान तेज नारायाण साह कानूको पनि जमिन पोखरीमा परेको छ । पोखरी वरीपरी दुई तिन ठाउँमा भएको जमिन पुरेको भन्दै तेजनारायाण पनि सुडीले आफूहरुमाथि अन्याय गरेको बताउँछन् । उनले त ईश्वरपुर नगरपालिकाको न्यायिक समितिमा सुडी विरुद्ध निवेदन नै दिएका छन् ।
पोखरीयाका सुलमान अन्सारीले सुडीले गरीब किसानमाथि अन्याय गरेको बताए । उनले न्यायका लागि प्रहरी प्रशासनले समेत वास्ता नगरेको गुनासो गरे । उनले गरीब किसानको आवाज कसैले नसुन्ने भएकै कारण पोखरीयाका किसान सुकुम्वासी बन्न पुगेको बताए ।
सुडीले गरीब किसानलाई त हेपे हेपे जनप्रतिनिधि र प्रहरी प्रशासनलाई समेत नटेरेको पाइएको छ । विवाद मिलाउन वडा अध्यक्षले पटक पटक बोलाउँदा सम्म सुडी नआएको ईश्वरपुर १ का वडा अध्यक्ष धर्मेन्द्र राय यादवले बताए । वडाअध्यक्ष यादवका अनुसार छलफलका लागि प्रहरीले बोलाउँदा समेत अटेरी गरी रहेका छन् ।
अहिले यो विवाद ईश्वरपुर नगरपालिकाको न्यायिक समितिमा पुगेको छ । न्यायिक समिति सदस्य ढुंडीराज पोखरेलले सुडी विरुद्ध समितिमा उजुरी परेको पुष्टी गर्दै,न्यायको प्रक्रियामै रहेको बताए । उनले सुडी विरुद्ध उजुरीका विषयमा बुझ्न पटक पटक फोन गर्दा समेत नउठाएको बताए ।