सर्लाही,वैशाख -६, जिल्लाको लालबन्दी नगरपालिकामा कृषि क्याम्पस स्थापनाका लागि सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारी नेतृत्वमा टाेलिले आग्रह गरेकाे छ ।


लालबन्दीका मेयर अधिकारीको नेतृत्वमा सङ्घीय राजधानी काठमाडौं पुगेको जनप्रतिनिधिसहितको टोलीले बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री प्रचण्डसँग कृषि क्याम्पस स्थापनाका लागि सहयोग गरिदिन आग्रह गरेका हुन ।
काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी लालबन्दीमा कृषि क्याम्पस स्थापनाका लागि पहल जारी छ । त्यसैअन्तर्गत आवश्यक सहयोग तथा समन्वयका लागि प्रधानमन्त्रीसहित नेपाल सरकारका अन्य उच्च पदस्थ व्यक्तिसँग भेट गर्न नगरप्रमुखसहितको टोली काठमाडौं पुगेको हो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले कृषि क्याम्पस खोल्ने कुरामा सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक सहयोग गर्न सम्वद्ध निकायमा निर्देशन दिने प्रतिवद्धता जनाउनुभएको मेयरका स्वकीय सचिव भानुभक्त बराबरले जानकारी दिए ।
बरालका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डसँग लालबन्दी बजारबाट नारायणखोला हुँदै सिन्धुलीको दुम्जासम्म जाेड्ने सडक निर्माणका लागि समेत कुरा राखिएको छ । प्रधानमन्त्रीसँग भेट गर्न लालबन्दीका नगरप्रमुख अधिकारी नेतृत्वको टोलीमा उपप्रमुख कल्पनामाया पाख्रिन, विभिन्न वडाका वडाध्यक्षसहित सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, नगरप्रमुखका प्रत्यासी एवम् माओवादी केन्द्रका नेता प्रल्हाद बुढाथोकीलगायत बालुवाटार पुगेका छन् । लालबन्दी नगरपालिकाभित्रका अन्य विभिन्न योजनामा बजेट पार्न प्रधानमन्त्री कार्यालयसँगै भौतिक पूर्वाधार, उद्योग, खानेपानीलगायतका मन्त्रालयमा पुगेर उच्च पदस्थ व्यक्तिहरुसँग भेट गरेको नगरपालिकाका प्रवक्ता थापाले जानकारी दिए ।
लालबन्दी नगरपालिकाले वडा नं. १६ परवानिपुर क्षेत्रमा कृषि क्याम्पस स्थापना गर्ने सोँचका साथ पहल गरिरहेको छ । डिम जनता माध्यमिक विद्यालय परवानिपुरको नाममा रहेको छ बिघा जग्गामा कृषि क्याम्पस स्थापना गर्ने तयारी गरे पनि काठमाडौं विश्व विद्यालयले त्यति जग्गामात्रै अर्पाप्त हुने बताएपछि नेपाल सरकारमार्फत थप जग्गा प्राप्ति तथा अन्य साथ, सहयोग जुटाउन भन्दै नगरप्रमुख (मेयर) को नेतृत्वमा जनप्रतिनिधिको टोली काठमाडौं पुगेको हो । लालबन्दीमा कृषि क्याम्पस स्थापना भए मधेश प्रदेश तथा भारतको उत्तरवर्ती प्रदेशका विद्यार्थीलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।