सर्लाही वैशाख—५,जिल्लको लालबन्दीबाट मंगलवार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका–७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासिय विद्यालय रहेको भवन पछाडि फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो ।


इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शान्तराम कार्कीका अनुसार एक हजारका ५३० वटा नक्कली नोट बरामद भएको हो । ती नक्कली नोटसँगै एक हजार दरको नोट साइजको पाँच सय भन्दा बढी ‘फोटोकपी पेपर’ समेत बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।


नोट बनाउने कार्यमा संलग्न व्यक्तिले बजारमा ती नोट प्रयोग गर्न नसकेपछि फोहोर फाल्ने ठाउँमा ल्याएर फालेको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले नक्कली नोट बनाएर फाल्ने व्यक्ति पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ । जिल्लामा पछिल्लो समय नक्कली नोटको धमाधम बरामद भइरहेका छन् । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट नक्कली नोटसहित यसको कारोवारमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कारवाही समेत चलाइरहेको छ ।