रौतहट,वैशाख-२,गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ, भने तीनजना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार शनिवार गढीमाई नगरपालिका–८ धोबिनियामा भएको जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा गोली चलेको हाे ।
गोली लागेर स्थानीय ५० बर्षिय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकाेमा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले ।
गोली कसले चलायो भन्ने अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।गढीमाई नगरपालिका को धोबिनियामा निर्माण भैरहेको बाटोकाे विषयमा विवाद हुँदा १२ बोरको बन्दुकको गोली प्रहार भएको प्रहरीको भनाइ छ ।
गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।
घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको १२ बोरको बन्दुक प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली पठाइएको एसपी बुढामगरले जानकारी दिए।