सर्लाही,बैशाख -१, जिल्लाको बाँके जङ्गल क्षेत्रमा वन्यजन्तुलाई पानी पिउन सहज होस् भनी ठाउँ–ठाउँमा पानी भरिएको ड्रम राखिएको छ ।
‘वनस्पती जोगाऔँ, वन्यजन्तुको संरक्षण गरौँ’ भन्ने नाराका साथ ईश्वरपुर सचेत नागरिकको तर्फबाट फूलजोर चोकदेखि बाँके चोकसम्मको जङ्गलमा वन्यजन्तुका लागि पानी पिउने व्यवस्था मिलाइएको हो ।
अभियानको नेतृत्व गरेका नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सभापति प्रमोद बरालले पछिल्लो समय मानिस विकसित भएपछि वनस्पति र जनावरलाई बेवास्ता गरिरहेको अवस्थामा यि दुवैलाई संरक्षण गर्ने उद्देश्यसहित वन्यजन्तुलाई पानी पिउने प्रवन्ध मिलाइएको जानकारी दिए ।
उनले फूलजोरदेखि बाँकेसम्म राजमार्गको छेउमा ड्रमभित्र पानी राखेर जङ्गली जनावरलाई पानी पिउने व्यवस्था मिलाएको बताए । वनभित्र पानीको स्रोत नहुँदा जीवजन्तु पानीको खोजीमा मानव बस्तीतर्फ पसिरहेको अवस्थामा स्थानीय तह, डिभिजन वन कार्यालय र सागरनाथ वन विकास परियोजनालाई वनभित्रै पानीको स्रोत व्यवस्थापन गर्न ध्यानाकर्षण गराउने उद्देश्य समेत राखेर आफूहरुले यस अभियान सञ्चालन गरेको बरालले बताए ।
नयाँ वर्ष २०८० को शुभ अवसरमा आज बिहान पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा फूलजोरदेखि बाँकेसम्मको जङ्गल क्षेत्रको ठाउँ–ठाउँमा आधा काटिएको ड्रम राखेर पानी भरेर छाडिएको हो । त्यस क्षेत्र वन्यजन्तुको बढी ओहोरदोहोर र बासस्थान भएको ठाउँ हाे ।