प्रकाश मैनाली /सर्लाही
चैत-२८, समाजमा भिजेका र सामूहिक निर्णय गर्ने सहकारी संस्थामा कुनै पनि प्रकारको समस्या नरहेको एक कार्यक्रमका वक्ताहरुले जनाएका छन् ।


सामुदायिक रेडियो एकताले संचालन गरिरहेको सामुदायिक संचार एकता सहकारी संस्था लिमिटेडले आयोजना गरेको सहकारीको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।


वर्तमान अवस्थामा बैंक तथा सहकारी संस्थाले झेल्नु परिरहेको समस्यालाई लक्षित गर्दै रेडियोले लालबन्दी नगरपालिका–५, स्थित आफ्नै कार्यालयमा जिल्लाभित्र प्रमुख सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापकलगायतलाई सहभागी गराएर अन्तरक्रिया गरेको हो ।
बक्ताहरूले एकल निर्णय गर्ने सहकारीहरुमा समस्या देखिँदै गए पनि शेयर सदस्यसँग भिजेर कारोवार गरिरहेका सहकारीमा , यस्तो समस्या नरहेको बताए ।
रेडियोले जिल्लामा यसरी बचत सहकारी, कृषि सहकारी, शिक्षा सहकारीलगायत सबै प्रकृतिका सहकारीलाई सहभागी गराई पहिलो पटक अन्तक्रिर्या कार्यक्रम आयोजना गरेकोमा सहभागीले धन्यवाद ज्ञापन गरेका छन् ।
सामुदायिक संचार एकता सहकारी संस्था र रेडियोका समेत अध्यक्ष गोविन्दबहादुर महतको अध्यक्षता एवं लालबन्दी नगरपालिकाको सहकारी शाखाका प्रमुख गोपालबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सह–आयोजक राष्ट्रिय सहकारी बैंक मधेश प्रदेशका प्रमुख विष्णुप्रसाद पराजुली, जिल्ला बचत संघ सर्लाहीका पूर्व अध्यक्ष बाबुराम घिमिरे, बचत संघका वर्तमान उपाध्यक्ष धनेश्वर महतो, राष्ट्रिय सहकारी बैंक हरिवन शाखाका प्रमुख नारायण लामिछाने, नेफ्स्कुन फिल्ड कार्यालय हरिवनका प्रमुख महेश बराललगायतले मन्तव्य राखेका थिए ।
रेडियोको संचालक समितिका सदस्य बेचुप्रसाद तिमल्सिनाले स्वागत तथा व्यवस्थापक प्रकाश मैनालीको संचालन रहेको कार्यक्रममा रेडियोका तर्फबाट विनोदकुमार थापा, राष्ट्रिय सहकारी बैंकको तर्फबाट विष्णुप्रसाद पराजुली र नारायण लामिछाने तथा नेफस्कुनको तर्फबाट महेश बरालले कार्यपत्र प्रस्तुत गरेका थिए ।