सर्लाही,चैत्र—२७,चमेली बचत तथा ऋण सहकारी संस्थाले दुईजना क्यान्सर पिडीत सदस्यलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत धनकौल र विष्णु गाउँपालिकाका दुई जना महिला सदस्यको उपचारमा सहयोग पुर्याउने उदेश्यले राहत स्वरुप रकम वितरण गरेको संस्थाले जनाएको छ ।


विगत आठ महिनादेखि पाठेघरको क्यान्सरबाट पीडित विष्णु गाँउपालिका ४ का उषादेवी कुशवाहा र सात महिनादेखि छातीको क्यान्सरबाट पीडित धनकौल गाँउपालिका ६ छटौलका वनारसी देवीलाई उपचार खर्च वापत जनही पाँचहजार रुपैयाका दरले सहयोग रकम उपलब्ध गराएको हाे ।
यसअघि आर्थिक वर्ष २०७८÷७९ को अवधिमा संस्थाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत १५ लाख ६४ हजार रकम राहत स्वरुप आफ्ना सदस्यहरुलाई वितरण गरेको जनाएको छ । संस्थाले उपलब्ध गराएको विवरण अनुसार एकल महिला सुरक्षा कार्यक्रम अन्तर्गत १ सय ५६ एकल महिला सदस्यलाई ७ लाख १८ हजार रुपैयाँ, जेष्ठ सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत ८ जनालाई ४० हजार रुपैयाँ, श्रीमानको मृत्यु भएका महिला सदस्यलाई क्रिया खर्च वापत २८ जनालाई १ लाख ३९ हजार रुपैयाँ वितरण गरेको छ ।


त्यसैगरी घरमा आगलागि भएका ३ सदस्यलाई खाद्यान्न सहयोग बापत ५ हजार रुपैयाँ तथा कोरोना माहामारीबाट पीडित २ सदस्यलाई पाँच हजार रुपैयाँ प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत साहले जानकारी दिए । त्यसैगरी संस्थाले अत्यन्त आर्थिक विपन्नता भएका सदस्यहरुको ३ लाख ३४ हजार कर्जा मिनाह समेत गरेको कार्यकारी अधिकृत साहले जानकारी दिए ।