सर्लाही, चैत -२६, येशू ख्रिष्टको पुनरुत्थान दिवस (ईष्टर सण्डे) आज (आईतवार ) सर्लाहीमा पनि धुमधामले मनाइएको छ ।
येशू ख्रिष्ट चिहानबाट बौरी उठेको दिनको सम्झनामा जिल्लाका इसाई धर्मावलम्बीहरुले मोटरसाईलकमा पुरै जिल्ला परिक्रमा गरी दिवस मनाएका हुन् ।
दिवसको अवसरमा आज विहान जिल्लाको लालबन्दीमा भेलाभएका इसाई धर्मावलम्बीहरुले लालबन्दीबाट बयलवास, चन्द्रनगर, ब्रह्मपुरी, मलंगवा, कविलासी, बरहथवा, बागमती, हरिवन हुँदै लालबन्दीसम्म मोटरसाईकल र्याली गरेको ख्रिष्टियन समाज लालबन्दीका सचिव विकास बुढाथोकीले जानकारी दिए । उनका अनुसार र्यालीमा जिल्ला ख्रिष्टियन समाजमा आवद्ध जिल्लाका ६२ ओटा चर्चहरुको सहभागिता रहेको थियो ।
जिल्ला ख्रिष्टियन समाजका अध्यक्ष पास्टर कपिलदेव चौधरीको नेतृत्वमा निस्किएको र्यालीमा जिल्लाका सबै चर्चहरुका पास्टरहरु, जिल्ला ख्रिष्टियन समाजका पदाधिकारीहरु, गाउँ तथा नगरपालिका ख्रिष्टियन समाजका पदाधिकारीहरुसमेत गरी १५० बढी मोटरसाईकलमा ३ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
र्यालीमा सहभागिहरुलाई जिल्लाका विभिन्न पालिकाहरुमा भव्य स्वागत गरिएको थियो । मलंगवास्थित सगरमाथा बोर्डिङ स्कुलका सञ्चालक तिलक क्षेत्रीले मलंगवामा र्याली कार्यक्रममा सहभागिहरुलाई जलपान गराई स्वागत तथा सम्मान गरेका थिए ।
जिल्ला परिक्रमा पछि लालबन्दीमा भएको कोणसभामा बोल्दै पास्टरहरुले येशू ख्रिष्टले सम्पूर्ण मानव जातिको पाप बोकेकाले सबैले विश्वास गर्नुपर्ने बताए। वक्ताहरूले मानव जातिको एक मात्र मुक्तिदाता र उद्धारकर्ता येशू ख्रिष्ट नै भएकोले उहाँमाथि विश्वास गर्नुको विकल्प नभएको बताए ।
सभामा धन्यवाद प्रार्थना गर्दै,समाजका जिल्ला अध्यक्ष चौधरीले र्यालीमा सहभागि सबैलाई धन्यवाद व्यक्त गरे । प्रार्थनाका क्रममा उनले पुनरुत्थान दिवस कार्यक्रम सफल बनाउन सहयोग गर्ने सुरक्षाकर्मी, प्रशासन, जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, पेशाकर्मी, राजनीतिकर्मी तथा सर्वसाधारण समेतलाई धन्यवाद ज्ञापन गरे ।
त्यस्तै कार्यक्रममा मन्ना चर्च जुटपानीका पास्टर कर्ण जोशीले पुनरुत्थान दिवसस(ईष्टर सण्डे) को महत्वको बारेमा प्रकाश पारेका थिए । उनले इष्टर सण्डे सफल भएकोमा खुशि व्यक्त गरे। कार्यक्रमको समापन प्रार्थना नगर ख्रिष्टियन समाज लालबन्दीका अध्यक्ष पास्टर बलबीर माझीले गरेका थिए ।
ईष्टर सण्डे हरेक ९ अप्रिलमा विश्वभर मनाइन्छ । येशू ख्रिष्ट चिहानबाट तीन दिनमा बौरी उठेको दिनको सम्झनामा विश्वभरका इसाई धर्मावलम्बीहरुले विश्वभर इष्टर सण्डे मनाउने गरेका छन् ।
यो पर्वमा ख्रिष्टको सम्झना गर्दै उनको महिमागान, आरधाना, उपसना, स्तुती गान, प्रार्थना गर्दै मनाइन्छ । त्यस्तै एकआपसमा शुभकामना साटासाट गरी भाइचारा र ख्रिष्टको स्नेहको प्रतीकको रुपमा मनाईने गरिएको छ । ईष्टर सण्डे इसाई धर्मावलम्बीको ख्रिष्टमस डे गुड फ्राई डे पछिको ठुलो पर्व हो ।