एसपी यादव/काठमाडौ
चैत- १७ ,नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवले, महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिंगो राष्ट्रको समस्या भएको बताएका छन् ।


घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको बताउदै उनले, महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिए ।
महिला हिंसा विरुद्धको कार्यक्रमहरु बन्द कोठाभित्र गर्दा प्रभावकारी हुन नसकेको भन्दै मन्त्री यादवले ती अभियानहरू अब सडकबाटै सुरु गर्नुपर्ने पनि बताए ।
महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउँदै मन्त्री यादवले समाजलाई सचेत नगराई महिला हिंसाको अन्त्य नहुने बताए । उनले राजनीतिक दलहरूले पनि महिला हिंसाको विरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गरे । राजनीतिक दलहरूले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने बताउँदै उनले भने, ‘समाजलाई सचेत नगराईकन यो हिंसाको अन्त्य हुँदैन । राजनीतिक दलले अभियानको रूपमा लिनुपर्छ । घोषणापत्रमा मात्रै लेखेर पुग्दैन ।’उनले भने ।
मन्त्री यादवले ९५ प्रतिशत घरमा कुनै न कुनै रूपमा महिला हिंसा हुने गरेको भन्दै महिला हिंसाको सम्बन्धमा प्रशस्त कानुन भए पनि कानुन कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको बताए ।


मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र न्यूनीकरण सम्बन्धि राष्ट्रिय निति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउदै मन्त्री यादवले भने, ´निति निर्माण गर्नका लागि उच्च स्तरीय समिती गठन गर्न समेत आवश्यक रहेको छ`, । मन्त्रालयमा शुक्रवार पदबहाली गर्दै मन्त्री यादवले उच्च स्तरीय समिती निर्माण प्रक्रियाको फाइल सदर गरेका छन् ।
उनले कानुनलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताउदै महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर योजना अनुसार कार्य अगाडी बढाउन मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।