राजु तामाङ/सर्लाही
चैत्र- १५,जिल्लाको हरिवन नगरपालिका वडा नम्बर- १ बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ ।

नेकपा एमालेका नेता एवम् अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्षसमेत रहेका किसान उत्तम परियारले सञ्चालन गरेको बाख्रा फार्ममा आगलागी भएको हो ।
आगलागीबाट सोलार बैट्री , लत्ताकपडा, बाख्रलाई दानापानी दिने भाँडाकुडाहरु जलेर खरानी भएका छन् ।

आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
घरका मान्छे सबै बजार गएको बेला दिउँसो साढे १२ बजे तिर आगलागी भएको हो । केही दिनदेखि हरिवन नगरपालिका वडा नम्बर ८, ९ र १ मा पर्ने शिवेश्वर सामुदायिक वन र हरिवन वडा नम्बर ८ र १ मा पर्ने मनकामना सामुदायिक वनमा आगलागी भइरहेको थियो । वनमा लागेको आगो फैलिएर बाख्रा फार्ममा सल्किएकाे स्थानीयले बताएको छ ।
बाख्रा चरणको लागि खोलिएको समयमा आगलागी भएकाले पशुचौपाय र मानवीय क्षति भने नभएको बताइएको छ । जंगलबाट फैलिएर आएको आगो गाउँलेहरु र हरिवन नगरपालिकाको वारुण यन्त्र (दमकल) ले करिब दुई घण्टापछि नियन्त्रण गरेका थिए । समयमै आगो नियन्त्रण गरेपछि नजिकैको घरका भने क्षति नभएको स्थानीयले बताए छन् ।