चियोचर्चो खबर
मलंगवा, माघ, २४—सर्लाहीमा कोरोना विरुद्धको खोप अभियानको पहिलो चरणका लागि एक दिन थप गरिएको छ । पहिलो चरणमा १० दिन खोप लगाउने भनिएपनि अग्रपंक्तिमा काम गर्ने सबैलाई समेट्न नसकिएका कारण शनिवार एक दिन थप गरिएको जिल्ला अस्पताल सर्लाहीले जनाएको छ ।
अभियान अन्र्तगत शुक्रवार सम्म २९०७ जनाले खोप लगाएका छन् । शुक्रवार जिल्लाको २० वटैै स्थानीय तहमा फ्रण्टलाईनमा काम गर्ने व्यक्तिलाई खोप लगाई सकिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले जानकारी दिनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमानित तथ्यांक अनुसार जिल्ला स्थित २० पालिकामा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका छन् जसमध्ये शुक्रवार सम्म दुई हजार ९०७ जनालाई खोप लगाईएको हो ।
जिल्लाबाट कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएकोमा ५ हजार ३०० डोजमात्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । खोप लगाई सकेर बाँकी रहेको खोप आज (शनिवार) एकदिन सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, कैदीबन्दी , वृद्धाश्रममा रहेका वृद्धवृद्धालगायत अभियानमा विभिन्न कारणले खोप लगाउन छुटेकालाई लगाईने बताईएको छ ।
सर्लाहीमा अहिलेसम्म खोप लगाएका कोही पनि व्यक्तिमा कुनै पनि किसिमको समस्या नदेखिएको प्रमुख जनस्वास्थ्य प्रशासक नायकले बताए । भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप गत बुधबारबाट सर्लाहीसहित देशभर लगाउन सुरु गरिएको थियो ।