हरिपुर,चैत्र–१,हरिपुरमा जारी आधारभूत स्काउट तालिम बुधवार सकिएको छ ।
नेपाल स्काउट र हरिपुर नगरपालिकाको आयोजनामा फागुन २७ गतेबाट सुरु भएको ६ दिने आधारभूत तालिमको एक दीक्षान्त समारोहको आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको हो ।


चिताईन स्थित खेल मैदानमा हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारको अध्यक्षतामा भएको दिक्षान्त समारोहमा ३६ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरी तालिम समापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले जानकारी दिए ।
दैवी प्रकोप, विपत्त तथा जोखिम उद्धारका लागि ११ वर्ष देखि १६ वर्ष उमेरका विद्यार्थीका लागि यो तालिम प्रभावकारी हुने भएकोले नगरपालिकाको शिक्षा शाखाले नेपाल स्काउटसँग समन्वय गरी आधारभूत तालिम सञ्चालन गरेको हरिपुर नगर शिक्षा शाखाका संयोजक नागेश्वर रायले बताए ।

उनका अनुसार तालिमका सहभागिहरुलाई नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक कृष्ण चालिसे, राष्ट्रिय महिला प्रशिक्षक रत्नादेवी चावल, सहायक राष्ट्रिय प्रशिक्षक गंगा प्रसाद मैनाली, सहायक राष्ट्रिय प्रशिक्षक शिखर सिग्देल लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए ।
तालिममार्फत दिक्षान्त भएका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुबाट अब नगरका विभिन्न विद्यालयतहमा गएर स्काउटको सदस्यता विस्तार गर्ने लक्ष्य राखिएको नगर शिक्षा शाखा संयोजक रायले बताए।
समारोहमा उपमेयर निलमदेवी राय, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल लगायतको उपस्थिति रहेको थियो ।