सर्लाही,फागुन—२९,तराईमा लामो समयसम्म खडेरी पर्दा अन्न बाली ,तरकारी र फलफूल खेती प्रभावित भएको छ । आकाशे पानी नपर्दा गहुँ ,तोरी , चना, मुसुरो जस्ता हिउँदे खेती प्रभावित भएको हो ।त्यसैगरी पानी नपर्दा फलफूल खेती पनि प्रभावित भएको छ ।पानी नपर्दा फलफूलको चिचिला धमाधम सुकेर झर्न थालेका छन् ।तराईका जिल्लामा विगत सात महिनादेखि पानी पर्न सकेको छैनन् ।

यसरी पानी नपरेर लामो खडेरी पर्दा जमिन सुख्खा भएर भावर तथा चुरे क्षेत्रमा खानेपानीको समेत समस्या हुन थालेको छ। आकाशबाट पानी नपर्दा खोला तथा नदीमा जलसतह सुक्नुका साथै भुमिगत सिँचाइका लागि गाडिएका धेरै चापाकल सुक्न थालेको लालबन्दी –१७, का होमप्रसाद सापकोटाले गुनासो गरे । खडेरीले भूमिगत पानीको सतह भासिएपछि पम्पसेट प्रयोग गरेर हुँदै आएको भुमिगत सिँचाइ प्रभावित भएको छ। सिँचाइका लागि गाडिएका ट्युवेल,(वोरिङ) सुक्न थालेपछि आँप कटहर लिच्चीको फुल सुकेर झर्न थाल्यो, वाग्मती नगरपालिका–३,का किसान चिरण खरेल बताए ।


फलफूल र तरकारी खेती गर्न भनेर गाडेको ट्युबवेलमा पानी आँउन छाडेको धेरै दिन भयो, जमिन मुनि गाडिएका धेरै चापाकल र टुयुबेल धमाधम सुक्न थालेपछि सिँचाइ गर्न गाह्रो भयो ।जमिनमा चिसो नभएर बारीमा लगाएको आँप र लिच्ची जस्ता धेरै फलफूल सुकेर मर्न थालेका छन्न ।पानी नपरेरै हिउँदे बाली फलेन, सिँचाइका लागि यहाँ अन्य कुनै विकल्प छैन, ‘खरेलले भने। ।
लामो समयसम्म आकाशे वर्ष नहुदा उत्तरी चुरेभेगका जंगल सुख्खा भएर घाँस पलाउँन छाड्दा पशुपालन गर्न मुस्किल परेको लालबन्दी –१६ ,का स्थानीय शम्भुप्रसाद अधिकारीले बताए ।
हिउँदे वर्षा नहुँदा यो वर्ष तराईमा हिउँदे बाली र फलफूल खेती नराम्रोसँग प्रभावित भएको हरिपुर नगरपालिका अन्तर्गत कृषि शाखामा प्रमुख अम्बिका मैनालीको बताईन्।
लामो समय खडेरी परेका बेला फलफूलका बोटलाई चिस्यान राख्न फेदमा पानी हालेर झरपात र स्याउलाले छोप्दा धेरै दिनसम्म जमिनलाई चिस्यान राख्न सकिन्छ उनले भनिन् । यस वर्ष समयमा पानी नपर्दा उष्णा प्रदेशीय बागवानी केन्द्र नवलपुरमा फलफूल उत्पादन कम हुने संकेत देखिएको छ ।
नेपालमा वर्षा गराउने पश्चिमी वायु सक्रिय हुन नसकेको कारण यस वर्ष हिउँदे वर्षा हुन नसकेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसम विद प्रतिमा मानन्धरले जानकारी दिइन् ।
हिउँदे वर्षको सम्भावना लगभग सकियो,स्थानीय वायुको प्रभावले अबको केही दिनमा प्रिमनसुन सुरु हुदैछ,‘यो प्रणाली सक्रिय भए केही दिनमा नेपाल प्रिमनसुन सुरु हुन्छ र त्यसको प्रभावले हावाहुरी सहित वर्षा हुने सम्भावना छ,’ मान्नधरले भनीन्।
समयमा पानी नपरेकाले तराईमा वातावरण प्रदूषित हुदै गएको छ। गर्मी बढेसँगै हावाहुरी डढेलो र धुवाँले मानव स्वास्थ्यमासमेत प्रतिकुल प्रभाव पार्न थालेको छ ।