सर्लाही,फागुन-२८,जिल्लाको हरिवनमा आइतवार(आज) १३ बुँदे हरिवन घोषणापत्र जारी गर्दै , आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नीति तथा विधान सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष गजुरधन राईको अध्यक्षता तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँरातीको प्रमुख आतिथ्यतामा सम्मेलन समापन भएको हाे ।
फोनिज सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकीका अनुसार विभिन्न जिल्लाबाट सम्मेलनमा सहभागी हुन आदिवासी जनजाति पत्रकारहरु सर्लाही आएका थिए । सम्मेलनलाई सम्वोधन गर्दै पर्यटनमन्त्री किराँतीले स्थानीय परिकार तथा सँस्कृतिको जगेर्ना गर्दै देशको पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिए । मन्त्री किराँतीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नामकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको बताए । उनले आदिबासी पहिचानको संघर्ष अझै नसकिएको भन्दै , ढिलोचाँडो पहिचानको मुद्दा स्थापित हुने विश्वास व्यक्त गरे । आदिबासी परिकार तथा संस्कृतिलाई पर्यटक भित्र्याउने प्रमुख आधारको रुपमा विकास गर्न सकिने उनको तर्क थियो ।
अध्यक्ष गजुरधन राईले पनि पहिचानकै आधारमा प्रदेशको नामाङ्कन गराउन फोनिजका तर्फबाट पहलकदमी र साथ सहयोग जारी रहने बताए।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै फोनिजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारको उत्थान र सहभागिता वृद्धिका लागि फोनिजले निरन्तर पहल गरिरहने बताए ,उनले ४ हजार बढी सदस्य रहेको संगठनलाई उपेक्षा गरिएको बताए ।
कार्यक्रममा फोनिजका पूर्व केन्द्रीय अध्यक्ष दण्ड गुरुङ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), बागमती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।