सर्लाही फागुन—२८,चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा जिल्लाको दुईवटा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
शनिवार सत्तागठवन्धनका विद्यार्थी संगठनले संयुक्त रुपमा र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एकल रुपमा उम्मेदवारी दर्ता गराएकासँगै यहाँ कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु एसले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् ।
यो गठवन्धनबाट सभापतिमा नेविसंघका अभिमन्यु चौधरी, सचिवमा अखिल क्रान्तिकारीकी अनिता बुढाथोकी र कोषाध्यक्षमा समाजवादीका एलोज खड्काको उम्मेदवारी परेको छ । नेविसंघकै चुनाव चिन्हबाट चुनाव लड्ने गरी संयुक्त रुपमा मनोनयन दर्ता गरिएको जनज्योति क्याम्पसका पूर्व स्ववियु सभापति एवं नेविसंघका नेता योगराज देवकोटा (युवराज) ले जानकारी दिए ।


यस्तै, जनज्योतिमा नेकपा एमाले निकट अनेस्वावियुको तर्फबाट सभापतिमा गान्दिप बराल, सचिवमा रेणु पोखरेल (कायरा) र कोषाध्यक्षमा विमलेश चौधरीको उम्मेदवारी परेको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनबाट कोषाध्यक्षमा मात्रै उम्मेदवारी परेको छ ।
उसको तर्फबाट कोषाध्यक्षमा ज्ञानेश्वर मण्डल खत्वेको उम्मेदवारी परेको हो । क्याम्पसमा ९९६ जना मतदाता अर्थात् भर्ना भएका विद्यार्थी रहेका जनज्योति बुहुमुखी क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक धर्मेन्द्र अधिकारीले बताए ।
उता, हरिवनमा रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा पनि सत्तागठवन्धन र एमालेको विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठवन्धनबाट अखिल क्रान्तिकारीको ब्यानरमा सभापतिका लागि अखिलका प्रेमराज दाहाल, सचिवमा नेविसंघका दिलीपबहादुर बस्नेत र कोषाध्यक्षमा समाजवादीका सन्जय कुमार महतोको उम्मेदवारी परेको छ ।
सुखेपोखरीमा पनि एमाले निकट अनेरास्ववियुले एकल प्रतिस्पर्धा गर्ने भएको छ । अनेरास्ववियुबाट सभापतिमा सन्दीप थापा, सचिवमा हिमाल घिमिरे र कोषाध्यक्षमा चन्दाकुमारी महतोले उम्मेदवारी दर्ता गराएका छन् ।
सुखेपोखरीमा ९७० जना मतदाता रहेका सो क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक हरिलाल मैनालीले जानकारी दिए । उता, सदरमुकाम मलंगवास्थित जिल्लाकै जेठो सर्लाही क्याम्पसमा भने फागुन ३० गतेमात्रै उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।
सर्लाही क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक कृपानाथ झाले ३० गते मनोनयन दर्ता गरी चैत ५ गतेनै चुनाव गराउने सहमती भएको बताए । स्ववियु निर्वाचनबाट सभापति, सचिव र कोषाध्यक्ष गरी तीन जना पदाधिकारी र ६ जना सदस्य प्रत्यक्ष निर्वाचित हुने छन् ।
बाँकी ६ जना सदस्य समानुपातिक मतको आधारमा टुंग्याइने छ । कार्य समितिको बैठक बसेर समानुपातिकबाट निर्वाचित भएर आएका सदस्यमध्ये बाटै एक जना उपसभापति र एक जना सहसचिव चयन गरिने छ ।