सर्लाही,फागुन- ११, जिल्लाको लालबन्दीमा बिहीवार (आज) बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।

मोटरसाइकलकाे ठक्करबाट मृत हुनेमा लालबन्दी नगरपालिका–७ दुर्गा मन्दिर चोक बस्ने ७० वर्षीय मौजे साह रौनियार रहेका छन् ।
लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालय अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५८ प १८१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइतेका वृद्ध रौनियारलाई लालबन्दीस्थित मोडेल अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि न्युरो अस्पताल कलैया लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

वृद्धलाई बिहीवार बिहान ७ बजेतिर ओमशान्तिमा जानका लागि सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्कर दिने मोटरसाइकल र त्यसका चालक महोत्तरीको गौशाला नगरपालिका–८, बस्ने २२ वर्षीय अनिल पाचे मगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिए।