चियाेचर्चाे खबर

लालबन्दी,माघ २३—सर्लाहीमा भुमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको स्थानीय तहबाट लगत संकलन अभियान सुरु भएको छ । अभियानको तयारीका लागि आज भोली सर्लाहीका केही स्थानीय तहका जनप्रतिनिधि व्यस्त देखिन्छन् । हाल सर्लाहीको लालबन्दी, हरिपुर, ईश्वरपुर, हरिवन, बागमती तथा बरहथवा नगरपालिकामा कार्यक्रम संचालन भैरहेको छ ।
अभियानको लक्ष्य यस क्षेत्रमा अव्यवस्थित रुपमा बसोबास गरीरहेका स्थानीयलाई व्यवस्थित बनाउने रहेको ईश्वरपुरका नगरप्रमुख मनोज कुमार देवकोटाले बताए । अभियान मार्फत लामो समयदेखी सरकारी जग्गा भोगचलन गरी बसोबास गर्दै आएका व्यक्तिहरुलाई लालपुर्जा प्राप्त गर्न सहज हुने प्रमुख देवकोटाको भनाई छ ।
प्रत्येक स्थानीय तहमा भुमि सम्बन्धि समस्या समाधानका लागि सहजीकरण समिति बनाईने र स्थलगत रुपमा तथ्यांक संकलन र नाप नक्सामा त्यस समितिलाई सहजीकरण गर्न वडास्तरी समस्या समाधान समिति बनाईनेछ ।
यसरी सम्बन्धित वडाध्यक्षको सिफारिसमा स्थानीय तहले मनोनयन गरेका आधारमा भुमिहीन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित रुपमा बसोबास गर्दै आएका स्थानीयको नाममा लालपुर्जा बनाउन सिफारिस गरिने हरिपुर नगरपालिकाका प्रमुख जमरुद्धिन मन्सुरले जानकारी दिए । ईकाइले गरेको सिफारिसको आधारमा आयोगले सर्वेक्षण गर्ने र त्यसैको आधारमा फिल्ड बुक तयार पारेर लालपुर्जा वितरण हुने नगरप्रमुख मन्सुरले चियोचर्चो खबरलाई बताए । भुमिहीन दलित, भुमिहिन सुकुम्वासि र अव्यवस्थित बसोबासी स्थानीय तहबाट लगत संकलन सम्वन्धी कार्यविधि २०७७ अनुसार यस समितिमा स्थानीय तहको प्रमुख संयोजक र उपप्रमुख उपसंयोजक रहने ईकाइमा सम्बन्धित स्थानीय तहमा क्रीयाशिल रहेका राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख वा प्रतिनिधि ,कार्यपालिका सदस्य मध्यबाट एक दलित महिला सहित दुई महिला र भुमि, आवास लगायतका क्षेत्रमा काम गरिरहेको संघ संस्था वा नागरिक समाजका प्रतिनिधि कम्तीमा एकमहिला सहित दुईजनालाई संयोजकले मनोनयन गरिने र प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव रहने गरी कार्यविधि तयार पारिएको छ । जसले गर्दा सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने नगर प्रमुख मन्सुरले बताए ।