सर्लाही,फागुन-७मिटरब्याज पीडित किसान तथा मजदुरहरुले आइतवार (आज) मिटरब्याजीहरुलाई कार्वाहीको माग गर्दै नवलपुरमा ३ घण्टा धर्ना दिएका छन् ।


मिटरब्याज तथा ठगि विरुद्धको किसान मजदुर संघर्ष समितिकी सर्लाही संयोजक एवम् अभियन्ता रुक्मणि चौधरीको नेतृत्वमा पूर्वपश्चिम राजमार्गको नवलपुरस्थित तिनकुने पार्कमा उनीहरूले धर्ना दिएका हुन ।
मिटरब्याजका कारण किसानहरु मारमा परेको, उनीहरुको घर खेत नै गुमिसकेको अवस्थामा पनि मिटरब्याजीहरुलाई कार्वाही गर्न सरकारले कुनै तदारुकता नदेखाएको, बाेरू मिटरब्याजीहरु शानका साथ हिडिरहँदा पनि सरकारले उनीहरुलाई पक्राउ गर्न नसकेको भन्दै आफूहरुले धर्ना लगायतका कार्यक्रम गरेको अभियानकी संयोजक चौधरीले बताईन् ।
उनीहरुले धर्नाका क्रममा अदालतलाई अपराधि चिनाउने कार्यक्रम भन्दै विभिन्न नाराहरु लेखिएको व्यानर प्रदर्शन गर्दै धर्ना दिएका थिए ।
उनीहरुले सुदखोर मिटरब्याजी श्याम परदेशी, रामबाबु राय, संजय रौनियार, रामस्वरुप रायलगायतका तस्बीर अंकित व्यानर समेत प्रदर्शन गरेका थिए ।


व्यानरमा उनीहरुले दृष्टिबन्धक खारेज गर, राजिनामा पास फिर्ता गर, जाली तमसुक मान्दैनौं जस्ता नारा उल्लेख गरेका थिए ।
‘मिटरब्याजीहरु विरुद्ध अदालतमा मुद्धा दर्ता भएका छन् । तर पनि उनीहरुलाई कार्वाही भएको छैन । त्यसैले हामीले उनीहरुलाई तत्काल कार्वाही गर्न माग गर्दै धर्ना दिएका हौं । आज धर्नाको पहिलो दिन दिउँसो १२ बजेदेखि ३ बजे सम्म धर्ना दियौं हाम्रो कार्यक्रम भोलि(सोमवार) पनि सोही समयमा यथावत छ ।’, संघर्ष समितिकी संयोजक चौधरीले भनिन् । उनले मिटरव्याजीहरुलाई कार्वाही नहुँदा सम्म आफूहरु निरन्तर संघर्षमा रहने भन्दै भोलिको धर्नापछि संघर्षका थप कार्यक्रमहरु तय गरिने बताईन् ।
धर्ना कार्यक्रमलाई मिटरब्याज तथा ठगि विरुद्धको अभियानका अभियन्ता एवम् हरिवन नगरपालिकाका मेयर रमेश कुमार बुढाथोकी(कमल) लगायतले सम्बोधन गरेका थिए ।
सरकारले मिटरव्याजीहरुका कारण धेरैको विचल्ली हुने अवस्था आएको भन्दै उनीहरुलाई कार्वाही गर्न कार्यदल नै गठन गरेको थियो ।
सोही बमोजिम साउन २८ गते शनिवार गृहमन्त्रालयले एक सूचना जारी गर्दै भदौ ५ गते सम्म मिटरब्याजी विरुद्ध उजुरी दिन पीडितलाई अनुरोध गरेको थियो ।


जस अनुसार सर्लाहीमा पनि ठुलो संख्यामा पीडितहरुले मिटरव्याजीलाई कार्वाहीका लागि उजुरी दिएका थिए । तर त्यो उजुरी उपर अहिले सम्म कुनै किसिमको कार्वाही भएको छैन ।