चियोचर्चो खबर
मलंगवा,माघ २२ – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको मृत्यु संस्कार नहुने भएको छ । वाग्लेको शव पोष्टमार्टका लागि सदरमुकाम मलंगवा लगिएको भएपनि वाग्लेले मृत्यु अघिनै परिवार जनसंग आफ्नो शव दान गर्ने इच्छा जाहेर गरेकाले सोही अनुसार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
उनको हिन्दु परम्परा अनुसार मृत्यु संस्कार नगरी १३ औं पुण्य तिथिका दिन श्रद्धाञ्जली सभाको आयोजना गरिने नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिए ।
यस अघि नै नेकपा सर्लाहीले एक विज्ञप्ति मार्फत घटना शंकाष्पद् देखिएको भन्दै निश्पक्ष छानविनको माग गरिएको छ ।
‘२०७७ माघ २१ गते सर्लाहीको बरहथवामा भएको पार्टी जिल्ला कमिटीको बैठकमा अतिथि रहेका वाग्ले ले साँझ बरहथवामा नै भएको मसाल जुलुस पछिको कोण सभालाई सम्बोधन गरेका थिए । बरहथवा बाट बागमती र्फकेका क्रम्मा साँझ करिब ९ बजे बरहथवा–नयाँरोड सडकको मूर्तिया जंगलमा वाग्लेलाई मृत अवस्थामा प्रहरीले भेटेको थियो ।
वाग्ले सवार मोटरसाईकलको अगाडीको भाग क्षतविक्षत भएको, हातगोडा बाहेकको शरिरमा चोटपटक नदेखिएको, खुट्टामा गहिरो चोट भएपनि पाईन्ट नच्यातिएको एवं रगत नदेखिएको, हेल्मेट र चश्मा जस्ताको तस्तै देखिएको आदि जस्ता शंकाष्पद् तथ्य देखिएको नेकपा सर्लाहीको ठहर छ ।
घटनाबारे गम्भिर अनुसन्धान गर्न प्रहरीको विशेष टोली ल्याउन, दोषि जो सुकै भएपनि कानूनको कठघेरामा ल्याउन र चाँडै सत्यतथ्य सार्वजनिक गर्न नेकपा सर्लाहीले विज्ञप्ति मार्फत भनेको छ ।