सर्लाही, फागुन -५,सर्लाहीको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताकाे आज भएको खेलमा सुदुरपश्चिम–११, माथि सहज जित निकाल्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको छ ।
बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटवल क्लव ६–२ गोल अन्तरले विजयी भएको हो । जित निकाल्दै राजर्षि जनक कपको फाइनल यात्रा तय गरेको मच्छिन्द्र फुटवल क्लवले कम्तिमा उपविजेताको उपाधिकाे स्थान सुरक्षित गरेको छ । भने, सुदुरपश्चिम–११, पराजित हुदै उपाधि होडबाट बाहिरिएको छ ।
मच्छिन्द्रको जितमा खेलको छैठौँ मिनेटमा दयानन्द सिंहले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनले विमल घर्तिमगरको पासमा सहज गोल गरेका थिए ।
मच्छिन्द्रले त्यस पछि पनि लगातार सुदुरपश्चिम माथि गोलको बर्षा गरेको थियो । सुदुरपश्चिम–११, का सामु लयमा देखिएको मच्छिन्द्रले पहिलो हाफको खेल ४–० को अवस्थामा पुर्याएकाे थियो ।
खेलको १३ औँ मिनेटमा मच्छिन्द्रका बिजय भुजेलले टिमका लागि दोस्रो गोल गरे । दयानन्द सिंहको पासमा उनले गोल गरेका थिए । खेलको ३६ औँ मिनेटमा मच्छिन्द्रको खेलाडि बिमल घर्तिमगरलाई सुदुरपश्चिमका खेलाडिले ‘डि’ बक्स नजिकै फउल गरेपछि मच्छिन्द्रले फ्रिकिक पाएको थियो । मच्छिन्द्रका देबेन्द्र तामाङले फ्रिकिकलाई सजिलै गोलमा परिणत गरिदिएका हुन् ।
खेलको ३९ औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रका पुजन उपरकोटीले टिमलाई ४–० को अवस्थमा पुर्याए । दोस्रो हाफ पछि पनि सुदुरपश्चिम–११, ले खेलमा सुधार गर्न सकेन । खेलको ५० औँ मिनेटमा सुदुरपश्चिम–११, ले पेनाल्टी मार्फत पहिलो गोल फर्काएको थियो । मच्छिन्द्रका दिवाकर चौधरीले डि बक्स भित्र फउल गरेपछि पाएको पेनाल्टी सुदुरपश्चिम–११, का फगुराम थारुले गोलमा परिणत गरिदिएका हुन् ।
यस्तै खेलको ६२ औँ मिनेटमा मच्छिन्द्रका दिपेश घलेले गोल गर्दै खेललाई ५–१ को अवस्थामा पुर्याएका थिए । त्यसको १२ मिनेटको अन्तरमा सुदुरपश्चिम–११, का भरत टमाटाले टिमका लागि दोस्रो गोल गरे । टमाटाको गोलमा खेल ५–२ को अवस्थामा पुगेको थियो । खेलको ८५ औँ मिनेटमा उत्सव राईको पासमा विमल घर्तिमगरले गोल गर्दै टिमलाई ६–२ को अवस्थामा पुर्याएका हुन् । मच्छिन्द्रको सामु सुदुरपश्चिम निरिह सावित भयो ।
दुई गोलमा अशिष्ट र टिमको लागि ब्यक्तिगत एक गोल गरेका विमल घर्तिमगर खेलको म्यान अफ दि म्याच घोषित हुदै ट्रफि र नगद १० हजार प्राप्त गर्न सफल भए । जितसगैँ मच्छिन्द्र फुटवल क्लवले फाइनल खेलमा जावलाखेल यूथ क्लव सगँको भेट पक्का गरेको छ ।
उपाधिका लागि जावलाखेल र मच्छिन्द्र फुटवल क्लवले फागुन ७ गते आइतवार प्रतिस्पर्धा गर्ने छन् । आजको भेटको लागि मच्छिन्द्रले क्वाटरफाइनल खेलमा आयोजक बागमती यूवा क्लवलाई पराजित गरेको थियो । भने, सुदुरपश्मि–११, ले प्रिक्वाटर फाइनलमा पाहुना टोली यूनाईटेड कुर्सेङ दार्जलिङ र क्वाटरफाइनलमा चर्चब्वाईज यूनाईटेडलाई पराजित गरेको हो । मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशी रहेको राजर्षि जनक कप फुटवल प्रतियोगिताको विजेता टिमले १० लाख नगद र राजर्षि रनिङ सिल्ड तथा उपविजेता टोलीले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।