सर्लाही,माघ- २८, आयोजक बागमती यूवा क्लव बागमतीमा जारी सातौँराजर्षि जनक कप फुटवल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
शनिवार(आज) सम्पन्न खेलमा धरान फुटवल क्लवलाई ५–१ गोल अन्तरले पराजित गर्दै, आयोजक बागमती यूवा क्लव सर्लाहीले सहज जित निकालेको हो ।

खेलको सुरु देखीने आयोजक बागमती धरान माथि हावी देखिएको थियो । लगातार दवावमा राखेको बागमतीले धरानलाई अवसर बनाउनसमेत दिएन ।
खेलको सुरुवाती मिनेटमै आकर्षक अवसर बनाएको बागमतीले सशक्त प्रहार भने गर्न सकेन । निकै आक्रामक खेल प्रस्तुत गरेको बागमतीका लागि खेलको १३ औँ मिनेटमा बिमल घिसिङले पहिलो गोल गरे । सृजन गौतमको क्रसपासमा घिसिङले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि बागमती थप आक्रामक बनेको थियो ।
खेलको ४१ औँ र ४३ औँ मिनेटमा बागमतीका खेलाडि सृजन गौतमले लगातार ब्यक्तिगत दुई गोल गरे । सृजनले धरानका रक्षा पंक्ति र गोल रक्षकलाई छलाउदै आकर्षक पहिलो गोल गरे । भने, लगतै बिमल घिसिङको पासमा गौतमले दोस्रो गोल गरे । सृजनको ब्यक्तिगत दुई गोलमा बागमती पहिलो हाफमा ३–० को अवस्थामा पुगेको थियो ।

दोस्रो हाफ पछि पनि बागमतीका खेलाडि उच्च मनोवलमा देखिए । भने, धरान लगातार बागमती सामु निरिह देखियो । खेलको ५७ औँ मिनेटमा बागमतीका खेलाडि सृजन गौतमको आकर्षक क्रस पासमा धरानले बागमतीलाई उपहार गोल दिएपछि बागमती ४–० को अवस्थामा पुग्यो । गौतममो क्रस बल धरानका रक्षा पंक्तिका खेलाडिको जिउमा छुदै गोलपोष्ट भित्र प्रवेश गरेको थियो ।
खेलको ६१ औँ मिनेटमा पेनाल्टी मार्फत धरानका दोर्जे तामाङले सान्त्वना गोल फर्काए पनि हार भने टार्न सकेन्न । ‘डि’ बक्स भित्र बागमतीका खेलाडिले गलत ‘ट्याकल’ गरेपछि धरानले पेनाल्टी पाएको थिया । तामाङले पोनाल्टी बललाई सजिलै बागमतीको जाली चुमाए । खेलको ८१ औँ मिनेटमा बागमतीको लागि अनिल राना मगरको पासमा दिपेश चाम्लिङ राईले पाचौँ गोल गरे ।
बागमतीका लागि ब्यक्तिगत दुई गोल गरेका सृजन गौतम म्यान अफ दि म्याच घोषित हुदै १० हजार पुरस्कार हातपार्न सफल भए । जितसँगै आयोजक बागमतीले क्वाटरफाईनलमा मच्छिन्द्र फुटवल क्लव काठमाण्डौ सगँको भेट पक्का गरेको छ । आईतवारको पहिलो क्वाटर फाईनल खेलमा साविक विजेता पिप्ले यूवा क्लव हेटौडा र जावलाखेल यूथ क्लव ललितपुर विच प्रतिस्पर्धा हुने भएको छ ।
साविक विजेता पिप्ले सिधै बाईपाएर क्वाटरफाईनलमा प्रवेश गरेको हो । भने, जावला खेल यूथ क्लव ललितपुर विभागिय सशस्त्र प्रहरीको एपिएफ क्लवलाई पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा भइरहेको प्रतियोगिताको फाईन खेल फागुन ७ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।बागमती यूवा क्लवका अध्यक्ष किस्मत राज मैनालीका अनुसार उपाधिका लागि अन्तराष्ट्रिय पाहुना टोली र आयोजकसहित १२ टिम सहभागी रहेका छन् ।