चियोचर्चो खबर
मलंगवा, माघ २२ – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको मृत्यु घटना शंकाष्पद् रहेको नेकमा सर्लाहीले निष्कर्ष निकालेको छ । विहिबार बिहान नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले शोक विज्ञप्ति जारी गर्दै घटनाबारे निश्पक्ष छानविन सहित दोषि जो कोही भएपनि कडा कानूनी कार्बाहीको माग गरेका छन् ।
पन्तले शोक विज्ञप्तिमा ‘२०७७ माघ २१ गते सर्लाहीको बरहथवामा भएको पार्टी जिल्ला कमिटीको बैठकमा अतिथि रहनु भएका वाग्ले बरहथवामा नै भएको मसाल जुलुस पछिको कोण सभालाई सम्बोधन गर्नु भएको उल्लेअ गरिएको छ । सम्बोधन पछि सर्लाहीको बागमतीतर्फ जाने क्रममा साँझ करिब ९ बजे बरहथवा–नयाँरोड सडकको मूर्तिया जंगलमा उहाँलाई मृत अवस्थामा प्रहरीले भेटेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटना भनिएपनि उहाँको मृत्यु रहस्यमय देखिएको छ, मोटरसाईकलको अगाडीको भाग क्षतविक्षत भएको, उहाँको हातगोडा बाहेकको शरिरमा चोटपटक नदेखिएको, खुट्टामा गहिरो चोट भएपनि पाईन्ट नच्यातिएको एवं रगत नदेखिएको, हेल्मेट र चश्मा जस्ताको तस्तै देखिएको आदि जस्ता शंकाष्पद् तथ्य देखिएको विज्ञप्तिमा भनिएको छ । घटना गम्भिर भएकाले अनुसन्धान गर्न प्रहरीको विशेष टोली ल्याउन, दोषि जो सुकै भएपनि कानूनको कठघेरामा ल्याउन र चाँडै सत्यतथ्य सार्वजनिक गर्न माग रिएको छ ।’
वाग्लेको सम्मानमा विहिबारदेखि तीन दिनसम्म पार्टीको औपचारिक कार्यक्रम नराख्ने एवं पार्टी कार्यालयहरुमा झण्डा झुकाएर राख्ने लगायत कार्यक्रम समेत विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । साथै आज (विहिबार) अपरान्ह ४ बजे सर्लाहीको २० वटै स्थानीय तहमा पार्टीको स्थानीय कमिटीले शोक पुस्तिका खडा गर्ने र श्रद्धाञ्जली कार्यक्रम गर्ने कार्यक्रम पार्टीले तय गरेको हुँदा सोही अनुसार सबै स्थानीय पार्टी संयन्त्रलाई गर्न आग्रह समेत गरिएको छ ।
प्रहरीले भने घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान भईरहेको जानकार दिएको छ । वाग्लेको शव पोष्टमार्टमका लागि विहिबार बिहान सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा लगिएको थियो ।
कोहुन वाग्ले ?
सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिघा घर भएका ५२ वर्षीय वाग्ले परिवारसहित महोत्तरीको बर्दिबास बस्दै आएका थिए । वाग्लेका श्रीमती र दुई छोरा छन्। उनका जेठा छोरा जर्मनीमा छन् भने अर्का छोरा नेपालमै छन् ।
२०४२ सालदेखि प्रगतिशिल विद्यार्थी आन्दोलनमा जोडिएका थिए । उनी २०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य तथा २०५२ मा तत्कालिन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएको थिए । २०६४ सालमा तत्कालिन एकता केन्द्र मसाल राम सिंह समूहको केन्द्रीय सदस्य बनेका वाग्ले एकता पछि तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य हुँदै देशको बाम प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता पश्चात बनेको नेकपामा केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्जको रुपमा क्रियाशिल वाग्ले संसद् विघटन प्रकरण पश्चात सत्ताधारी नेकपामा आएको विवादसँगै प्रचण्ड–नेपाल समूहमा आवद्ध रहेर आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए ।