सर्लाही,माघ-१५,मधेस प्रदेशमै सर्वाधिक धनराशि रहेको सातौं राजर्षि जनक कप फुटवल प्रतियोगिता माघ २५ गतेबाट सुरु हुने भएको छ ।

बागमतीमा हुने फुटवल प्रतियोगिताको तयारी बारे आईतवार (आज) पत्रकार सम्मेलन गरेर जानकारी गराएको हाे । आयोजकका अनुसार  प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।


पहिलो पुरस्कार १० लाख नगद तथा कप र दोश्रो पुरस्कार ५ लाख नगद रहेको प्रतियोगितामा १२ वटा टिमले प्रतिष्पर्धा गर्ने निश्चित भएको क्लबकालअध्यक्ष किस्मत मैनालीले जानकारी दिए।
बागमती नगरपालिका–११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगितामा डिफेण्डिङ्ग च्याम्पियन पिप्ले युथ क्लव हेटौंडा, सुदुर पश्चिम–११, संकटा क्लव, नेपाल पुलिस क्लव, नेपाल एपीएफ क्लव लगायतका राष्ट्रिय स्तरमा चर्चित  क्लवहरुले  सहभागिता जनाउने  अध्यक्ष मैनालीले बताए । प्रतियोगितामा भारत दार्जलिङको युनाइटेड किङडम क्लवकाेसमेत सहभागिता रहने अध्यक्ष मैनालीले बताए ।
फागुन ७ गते हुने फाईनल प्रतिस्पर्धामा प्रथमहुने टिमले १० लाख नगद सहित सुन र चाँदी प्रयोग गरेर बनाइएको २० किलोको कलात्मक शिल्ड उचाल्न पाउने छ ।
९८ लाख रुपैंया लागत अनुमान गरिएको प्रतियोगितामा  हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैंया तथा हरेक दिनका म्यान अफ दि म्याच घोषित खेलाडीलाई १० हजार रुपैंया प्रदानगरिने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक खेलाडीलाई बागमती राईजीङ अफदि ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाईकल समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
बागमती युवा क्लवको आयोजनामा माघ २५ गतेबाट सातौं पटक बागमतीमा राष्ट्रियस्तरको फुटवल प्रतियोगिता आयोजना हुन लागेको हो । आयाेजकले  प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । उद्घाटन खेलमा विभागिय टिम एपीएफले जावलाखेल युथ क्लवसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता हेर्नका लागि दर्शकबाट प्रति खेल एक सय रुपैंया तथा सेमिफाईनल एवम् फाईनल खेलमा भने २०० रुपैंयाको टिकट दर तोकिएको आयोजकले जनाएको छ ।
फूटबल प्रतियोगिता सम्पन्न गर्नका लागि बागमती नगरपालिका सहित विभिन्न गैरसरकारी संघ संस्था,विभिन्न व्यापारिक अर्गनाइजेसन , उद्योगी, व्यापारीहरुसंग सहयोग संकलन गरिएको आयाेजकले जनाएको छ ।