सर्लाही, माघ —१५,जिल्लाको हरिपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ ।
नगर प्रमुख (मेयर) गोपाल पजियारले (आज) आईतवार नगरको वडा नं– ३ फरहदवामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हुन । लाभग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै, नगरप्रमुख पंजियारले दुई जना जेष्ठ नागरीकलाई भत्ता दिएर वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण सुभारम्भ गरे ।
वडा नम्बर ३ का वडाअध्यक्ष लालमोहम्मद शेखले वडाका झण्डै ७ सय लाभग्राहीहरुलाई वडा कार्यालयबाटै सुरक्षाभत्ता प्रदान गर्न सुरु गरिएको बताए ।
चालू आर्थिक वर्षको दोश्रो तैमासिक भत्ता वितरण कायक्रम अन्तर्गत आज पहिलो दिन जेष्ठ नागरीकहरुलाई भत्ता गरिएको छ । आज वडाका सबै (झण्डै पौने तिन सय) जेष्ठ नागरीक र एकल महिलाहरुलाई भत्ता वितरण गरी सकेर भोलिदेखि अन्य सामाजिक सुरक्षाभत्ता पाउनेहरुलाई भत्ता वितरण गरिने वडाअध्यक्ष शेखले बताए ।
फरहदवास्थित वडा कार्यालयबाटै वितरण हुने भत्ता वितरणका लागि उपमेयर निलम देवी राय,वडाका जनप्रतिनिधि तथा एनआइसी एसिया बैंक हरिपुर शाखाका कर्मचारीहरु खटिएका छन् । वडा कार्यालयबाटै भत्ता पाएपछि खुशि हुँदै जेष्ठ तथा वृद्धवृद्धा नागरीकहरु भत्ता बुझ्नका लागि लाईन लागेर बसेका छन् ।
पहिला पहिला भत्ता पाउन त्यति सहज थिएन । लाभग्राहीहरुलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउन वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरिएको नगर प्रमुख गोपाल पंजियारले बताए । उनले अन्य वडाहरुमा पनि वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण हुने बताए । हरिपुर नगरपालिकामा झण्डै ७ हजार नागरिकले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका छन् ।