सर्लाही,माघ–९,सर्लाहीको लालबन्दी, हरिवन र बागमती नगरपालिकाले सोनाम ल्होसार पर्वको अवसरमा सोमवार (आज) थप १ दिन सार्वजनिक बिदा दिएका छन् ।
तामाङ समुदायले माघ ८ गते आइतवार सोनाम ल्होसार पर्व मनाएका थिए । पर्वको अवसरमा संघीय सरकारले आइतवार हिजो सार्वजनिक बिदा दिएको थियो ।


संघीय सरकारले दिएको बिदामा १ दिन थप गर्दै, लालबन्दी, हरिवन र बागमती नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरी माघ ९ गते आज पनि आ–आफ्नो पालिकामा सार्वजनिक बिदा दिएका हुन् । तीन वटै पालिकाले शुक्रवार सूचना जारी गरी ९ गते नगरपालिकासँगै मातहतका वडा कार्यालय, विद्यालयलगायत कार्यालय बन्द रहने जनाएका छन् ।


लालबन्दी, हरिवन र बागमती तीनवटै पालिकामा तामाङ समुदायको बाहुल्यता रहेको छ । सोनाम ल्होसारमा हिजो पनि,लालबन्दी, हरिवन र बागमतिमा शुभकामना आदानप्रदानसहित विविध सांस्कृतिक कार्यक्रमहरु भएका थिए । आज पनी जिल्लाका उक्त पालिकाहरुमा सांस्कृतिक कार्यक्रमहरु हुदै छन् ।