हरिपुर्वा, माघ —५ ,सर्लाहीको हरिपुर्वामा स्थानीय तहमा बालबालिका र सरोकारवालाहरुबीच समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको छ ।


अस्ट्रेलियन एडको आर्थिक सहयोग र वल्र्ड भिजन इन्टरनेटशनल नेपाल, वल्र्ड एजुकेशन, ह्याण्डी क्राफ्ट इन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) तथा हरिपुर्वा नगरपालिकाको साझेदारीमा त्यहाँ सञ्चालित समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत केश्वर गरीब जनता माविको प्राङ्गणमा बहस कार्यक्रम सम्पन्न भएको हो ।
हरिपुर्वाका मेयर विनोद कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा हरिपुर्वाका विभिन्न सामुदायिक विद्यालय र मदरसाबाट सहभागि भएका बालबालिकाले शिक्षासँग सम्बन्धित रहेर मेयर, शिक्षा शाखाका प्रमुख, प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु र अन्य सरोकारवालाहरुलाई सवाल गरेका थिए ।


बहस कार्यक्रमको सुरुमा सिकाई कार्यक्रमका कार्यक्रम संयोजक आदित्य पटेलले सिकाई परियोजना हरिपुर्वासहित चन्द्रनगर, ब्रह्मपुरी र पर्सा गाउँपालिकामा साँढे तीन वर्षदेखि सञ्चालनमा रहेको बताए । उनले बालवालिकालाई निर्धक्कसँग आफ्ना प्रश्नहरु राख्न सक्षम बनाउने उदेश्यले बहस कार्यक्रम राखिएको बताए । उनले विद्यालय चलाउने सवालमा, बाल संरक्षणका सवालमा, विद्यालयलाई बालमैत्री, अपांगतामैत्री बनाउने सवालमा सरोकारवालाहरुको योजना तथा प्रतिवद्धता जाहेर गराउने उदेश्यले बहस कार्यक्रम राखिएको बताए ।
त्यसपछि सुरु भएको बहसमा अधिकांश बालबालिकाहरुले आफूहरुले पढ्ने विद्यालय वातावरणमैत्री हुनुपर्ने, ल्याव तथा अन्य शैक्षिक सामाग्रीहरुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने, विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षकहरुको दरबन्दी मिलान गर्नुपर्ने लगायतका विषयमा केन्द्रित प्रश्न गरेका थिए । बालबालिकाको प्रश्नमा नगरप्रमुख विनोद कुमार साह, शिक्षा शाखा प्रमुख जनक काफ्ले, प्रशासकीय अधिकृत कुमार परियार, वडा नम्बर ६ का अध्यक्ष रामसोगारथ राय, केश्वर गरीब जनता माविका प्रधानाध्यापक संजय यादवलगायतले जवाफ दिएका थिए ।
जवाफमा मेयर साहले आफूले मेयरको पदभार ग्रहण गरेकै बेलादेखि नगरको विशेषगरी शिक्षा क्षेत्रको गुणस्तर सुधारमा काम गर्ने बताए अनुरुप नै काम गरेको बताए । त्यस्तै शिक्षा शाखा प्रमुख काफ्लेले माघ महिनाभित्र विद्यालयहरुमा देखिएको शिक्षक दरबन्दीलगायतका विविध समस्याहरु हल हुने बताए । प्रशासकीय अधिकृत परियारले सिकाई परियोजना सञ्चालन भएदेखि नगरका विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार भएको, अभिभावकले बालबालिकाका लागि पढ्ने वातावरण बनाईदिने गरेको, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पहूँच सम्म पुगेको जस्ता सुधारहरु भएको बताए ।
त्यस्तै स्थानीय सरकारलाई सफल बनाउनमा गैरसरकारी संस्थाहरुको भूमिका अहम हुने भएकोले उनीहरुसँग मिलेर नै काम गर्ने प्रतिवद्धता जनाउँदै मेयर साहले गैरसरकारी संस्थाले बनाएको प्लेटफर्मलाई आफूहरुले पनि निरन्तरता दिने बताए ।
बहस कार्यक्रमलाई आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले औपचारिकता प्रदान गरेका थिए भने पत्रकार सोम दियालीले बहस सञ्चालन गरेका थिए । कार्यक्रम भाइरल पोष्ट दैनिक र रेडियो सर्लाही प्रत्यक्ष प्रसारण गरिएको थियो ।
सिकाई परियोजना अन्तर्गत हरिपुर्वाका १६ ओटा सामुदायिक विद्यालय तथा ५ ओटा मदरसाहरुमा समावेशी शिक्षा सुदृढीकरण कार्यक्रम सञ्चालन भइरहेको छ । विशेषगरी विद्यालयका शिक्षकशिक्षिकाहरुलाई समावेशी शिक्षा सम्बन्धी विभिन्न तालिम तथा शैक्षिक सामाग्रहीहरु उपलब्ध गराउने, आवश्यकताका आधारमा विद्यालयहरुमा बालमैत्री तथा अपांगमैत्री भौतिक संरचना निर्माण गरि हस्तान्तरण गर्ने, अभिभावकका लागि पढाई सचेतना सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।