सर्लाही,माघ-१,जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १५ र १६ परवानीपुरमा सामुदायिक प्रयोजनका लागि भागवत लगाएर उठेको चन्दा रकमबाट  खरीद गरिएको  एम्बुलेन्स सञ्चालक समितिले सुटुक्क विक्री गरेको भन्दै स्थानीय आक्रोश भएका  छन् ।


स्थानीय सामुदायिक स्वास्थ्य समाज नेपाल परवानीपुर नामक गैह्र सरकारी संस्था मार्फत् सञ्चालन ल्याइएको  एम्बुलेन्स स्थानीय चन्दा दातालाइ थाहै नदिईकन सुटुक्क बिक्री  गरेको भन्दै स्थानीयले अहिले समितिसँग एम्बुलेन्स कहाँ छ ? भनेर खोजीविन सुरु गरेका छन्  ।
राज्यले  नागरिकलाई सुविधा दिने उद्देश्य भन्सार छुट दिएको एम्बुलेन्स स्थानीयले पत्तो नपाउने गरि बिक्री भएको रहस्य खुले पछि स्थानीयले एम्बुलेन्स खाेजिदीन पत्रकारसंग आग्रह गरेका छन् ।
स्थानीयकाे आग्रह अनुसार बास्तबिकता बुझ्न पुगेका सञ्चारकर्मीलाई समेत संस्थाका पदाधिकारीले गुम्राहमा राख्ने प्रयास गरेका छ ।
पटकपटक आफुहरूले एम्बुलेन्स नबेचेकाे दाबी गरिरहेका  संस्थाका पदाधिकारीहरूले सञ्चारकर्मीसंग व्यवस्थापनमा चुनाैती भएपछि बेच्नकाे लागि यातायात कार्यालय सम्म पुगेको स्विकारगरे ।
समितिले  सुरुमा यातायात कार्यालय पुगेर पास गरेरै बेच्ने प्रयास गरेको उनिहरूकै भनाइबाट  पुष्टि हुनेछ । उनीहरू  याे बाटोबाट बिक्री गर्दा  नमिल्ने भएपछि घुमाउरो बाटो प्रयोग गरि  एम्बुलेन्स विक्री गरेर बैंकमा रमक जम्मा गरेको देखिन्छ । संस्थाका अध्यक्ष गाेविन्द अधिकारीले सञ्चारकर्मी संग व्यवस्थापनमा समस्य भएपछि  कागजी प्रक्रिया पूरा गरि  ३ लाख ७५ हजार चालकलाई जिम्मा लगाएको स्विकार गरे ।
स्थानीयकाे चर्को बिराेध र सञ्चारकर्मीकाे चासो  पछि  समितिका पदाधिकारीहरू सञ्चालन गर्न दिएको एम्बुलेन्स कुन बाटो भएर फिर्ता ल्याउने भन्नेमा सक्रिय भएका छन् । उनीहरू यतिबेला आफुहरूले  लिएकाे पैसा फिर्ता दिएर भएपनि एम्बुलेन्स फिर्ता लिने  मुडमा पुगेका छन् ।
गएको ३/४ वर्ष अघि जिम्मा लगाएको  एम्बुलेन्स रकम फिर्ता दिएर ल्याइए आफुहरूलाइ मान्य नहुने स्थानीयकाे तर्क छ ।
एम्बुलेन्स बिग्रने क्रम बढे पछि चालकलाई  जिम्मा लगाएकाे संस्थाका पदाधिकारीले बताए पनि स्थानीयले बिग्रीएकाे एम्बुलेन्सलाई चालकले के भनेर ३ लाख पचहत्तर हजार बैंकमा जम्मा गरेर लिन मन्जुर भए भन्ने रहस्यकाे विषय हरेकले बताउँछन् ।
´हामीले खाई नखाई, खसी, बाख्रा, कुखुरा र बर्षभरी खाने अन्न बेचेर जम्मा गरेको पैसाले किनेको एम्बुलेन्स कहाँ छ, भनेर सोद्धा समितिका केही मान्छेहरु रिसाउँछन्, झर्किन्छन्`, । हामीलाई जसरी पनि एम्बुलेन्स ल्याईदिनु पर्‍याे  । हाम्रा विरामीहरुले एम्बुलेन्स खोज्न अन्यत्र जान नपरोस् ।’स्थानीय गुद्ध बहादुर बुढाथोकीले भने,।
अर्का  स्थानीय युवा भोजराज दाहालले त समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षको नामै लिएर उनीहरुले मिलेर एम्बुलेन्स बेचेर खाएको  दाबी गरे  ।
उनले  ‘समुदायलाई सेवा दिन किनेको एम्बुलेन्स समितिका मान्छेहरुले बेचेर खाए ।’  एम्बुलेन्स बेचेको पैसा समितका मान्छेहरुले आलोपालो चलाउने गरेको उनको दाबी छ ।
त्यस्तै स्थानीय युवाहरु ललित जिम्वा र सुगम दोङ्गले पनि एम्बुलेन्स कहाँ छ भनेर आफूहरुलाई पनि थाहा नभएको तर समितिका मान्छेले बेचे रे भन्ने सुनेको बताए ।
समितिका अध्यक्ष अधिकारीले चौतर्फी विरोध हुन थालेपछि एम्बुलेन्स फिर्ता ल्याउने विषयमा समितिमा छलफल गर्न लागेको बताएका छन् । उनले भने, ‘हामीले एम्बुलेन्स बेचेका छैनौं । समुदायको सम्पति हामीले विक्री गर्न सक्दैनौं । सञ्चालन गर्न नसकेपछि समुदायकै मान्छेलाई चलाउन दिएका छौं । गाउँलेले एम्बुलेन्स कहाँ छ भनेर प्रश्न गरेपछि हामीले अब एम्बुलेन्स जसरी नि फिर्ता ल्याउने तयारी गरिरहेका छौं ।’ तर अधिकारीको कुरामा पनि सत्यता भने भेटिँदैन उनले सरुमा बार्षिक १ लाख रुपैयाँ भाडामा चलाउन दिएको भनेका थिए । तर पछि कुरा फेर्दै  फिर्ता ल्याउने शर्तमा चलाउन दिएको बताए  ।
यता समितिकी कोषाध्यक्ष पर्मीला केसीको भने, स्थानीयले एम्बुलेन्सको खोजी गर्न थालेपछि आक्राेसीत भएकी छिन्  । उनी एम्बुलेन्सको विषयमा जान्न खोज्ने स्थानीयलाई मात्रै नभई पत्रकारलाईसमेत थर्काउने गरेको पाइएको छ ।
स्थानीय युवाहरुले एम्बुलेन्स कहाँ छ ? एम्बुलेन्स बेचेको पैसा केभाे ? भनी प्रश्न गर्दा, बैंकमा छ भने पनि उनी आफैले पनि एम्बुलेन्स बेचेको पैसा चलाएको स्थानीयले दाबी गरेका छन् । उनी मात्रै हैन एम्बुलेन्स बेचेको पैसा हालका अन्य पदाधिकारीले समेत चलाएको चलाएको स्थानीयकाे दाबी छ ।
यस्तो छ एम्बुलेन्सको कथा
परवानीपुरमा एम्बुलेन्सको आवश्यकता भएपछि स्थानीयले २०६७ सालमा श्रीमद भागवतको आयोजना गरे ।
श्रीमद भागवतबाट खर्च कटाएर झण्डै १८ लाख पैसा जम्मा भयो । त्यसपछि एम्बुलेन्स खरीद, सञ्चालन र व्यवस्थापन गर्न सामुदायिक स्वास्थ्य समाज नेपाल परवानीपुर नामक संस्था गठन भयो । संस्थाले लगतै ६८ सालमा भन्सार छुटसहित १० लाखमा एम्बुलेन्स खरीद गर्‍याे ।
१८ मध्ये १० लाखमा एम्बुलेन्स किनेपछि बाँकी रहेको पैसा कहाँ छ समितिले केही स्पष्ट बताएको छैन । तर स्थानीयको भनाई अनुसार ४/५ लाख जति पैसा भागवतको समयमा कबुल गरेकाहरुले अझै दिएका छैनन् ।
समितिले झण्डै ५/६ वर्ष जति एम्बुलेन्स सञ्चालन गर्‍याे  ।त्यसक्रममा चालकले लापरवाही ढंगले चलाउने गरेको कारण एम्बुलेन्स विग्रीयो ।
कहाँसम्म भने चालकले एम्बुलेन्समा ग्याँस सिलिण्डर र सिमेन्टका बोरासमेत ओसार्ने गरेको स्थानीय बताउँछन् । उनीहरुले समितिले निगरानी नगरेको कारण चालकले लापरवाही गरेको आफूहरुले बुझेको बताए ।
एम्बुलेन्स किनेका सुरुका वर्षहरुमा राम्रो सँग एम्बुलेन्स सञ्चालन भएको र त्यही पैसाले परवानीपुरमा १४ धुर जग्गा समितिले किन्न सफल भएको समितिका पदाधिकारीहरु बताउछन् ।
२०७२ तिर किनिएको जग्गा कतिमा किनियो भनेर नखुलाईएपनि चलनचल्तीको मूल्य अनुसार अहिले झण्डै २ लाख रुपैयाँ धुर पर्न आउँछ ।
समितिका पदाधिकारीहरुले समितिको नाउमा जग्गा जोड्नुलाई मात्रै गर्व ठानेका छन् । एम्बुलेन्स चलाउन नसकेकोमा उनीहरुलाई कुनै ग्लानी भने भएको देखिँदैन । उनीहरु अझै एम्बुलेन्सका विषयमा जान्न खोज्नेहरुसँग रिसाउने झर्किन र स्पष्ट जवाफ दिन पन्छिने गरेको स्थानीयको भनाई छ । चाडैं एम्बुलेन्स फिर्ता नभए कानुनी बाटो बाट फिर्ता ल्याउन बाध्य पार्ने स्थानीयकाे चेतावनी छ ।