सर्लाही,पुस-३०,जिल्लाको चन्द्रनगर गाउँपालिका–३, गेरुका टोलमा आजबाट थारु तिला संक्रान्ति माघी महोत्सव २०७९ सुरु भएको छ ।


‘‘नेपालके आदिवासी जनजाति के सान, थारु कला सँस्कृति हमर पहिचान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले उद्घाटन गरेका छन् ।
आयोजक थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सर्लाहीका सभापति सूर्यनारायण चौधरीको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा प्रदेशसभा सदस्य द्वय उर्मिलादेवी सिंह र उपेन्द्र महतो विशिष्ठ अतिथि रहेका  थिए। कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, थारु कल्याणकारिणी सभाका भूतपूर्व महामन्त्री अमिरीलाल चौधरी, केन्द्रीय सल्लाहकार उदयनारायण चौधरी, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गीतादेवी महतो, ईश्वरपुर नगरपालिकाकी उपमेयर रन्जितादेवी चौधरी, घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्तालगायतको आतिथ्यता रहेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय मलंगवाको समेत सहयोग रहेको महोत्सव उद्घाटन समारोहमा थारु जातिको भेषभुषा झल्किन झाँकीसहित थारु कलाकार ममता चौधरीलगायतले नृत्य प्रस्तुत गर्नुभएको आयोजकले जनाएको छ ।
थारुहरुको महान पर्व माघीको अवसरमा आयोजित महोत्सवमा भोली पुरस्कारको व्यवस्थासहित नृत्य प्रतियोगिता नै आयोजना गरिएको छ । उद्घाटनअघि थारु जातिको भेषभुषासहित विभिन्न ठाउँबाट भव्य र्‍याली समेत निकालिएको थियो ।