हरिवन,पुस -२९ ,हरिवन स्थित बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की उत्कृष्ट समाजसेवीको रुपमा सम्मानित भएका छन् ।
कार्कीले समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै मैनाली सेवा समाज सर्लाहीले आफ्नो नवौं वार्षिक साधारणसभाका अवसरमा कार्कीलाई उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गरेको हो ।


हरिवन स्थित सम्राट पार्टी प्यालेसमा समाजका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षता तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष कपिलमुनि मैनालीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाका अवसरमा समाजसेवी कार्कीलाई सभाध्यक्ष, प्रमुख अतिथीसहित विशिष्ट अतिथी हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले नगदसहित दोसल्ला ओढाई सम्मान पत्रबाट सम्मान गरेका मैनाली सेवा समाज सर्लाहीले जनाएको छ ।
मैनाली सेवा समाजले बागमती सेवा समाजको अध्यक्ष हुनुभन्दा अगाडिकै समयदेखि सम्मानित व्यक्तित्व भरत कुमार कार्कीले तन, मन र वचनले गर्नुभएको समाजसेवाको कार्य सराहनिय रहेको ठहर गरी सम्मान गरेको जनाएको छ ।
समाजले समाजसेवी कार्कीलाई प्रदान गरेको सम्मान पत्रमा लेखिएको छ, ‘आफ्नो जीवनको मूल्यवान अवसर, समय र आर्थिक रुपमा सबल बन्ने ईच्छा चाहानालाई कुनै प्रवाह नगरी स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा अतुलनीय र अनुकरणीय कार्य मात्र हैन आगलागि, बाढी पिडित र शितलहरले प्रभावित अपाङ्ग, असहाय, अशक्तहरुको आशा भरोसाको केन्द्र तथा सारथीको रुपमा उल्लेखनीय कार्य गरेवापत तपाईलाई मैनाली सेवा समाज नेपाल, जिल्ला कार्यसमिति सर्लाहीले जिल्ला भरिका विभिन्न समाजसेवी मध्ये उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौं ।’
समाजले अगाडि उल्लेख गरेको छ, ‘तपाईको आगामी दिन सफल रहोस र समाज सेवाको क्षेत्रमा लागि रहन साहस प्राप्त भइरहोस् भन्ने कामना गर्दै यो सम्मान प्रत्र प्रदान गरिएको छ ।’
सम्मान ग्रहण गर्दै समाजसेवी कार्कीले सम्मानबाट आफूलाई थप समाजसेवा गर्ने प्रेरणा मिलेको बताए। उनले आफूलाई योग्य ठानी सम्मान गरेको प्रति आयोजक मैनाली सेवा समाजलाई धन्यवाद व्यक्त गरे ।
सम्मानित व्यक्तित्व कार्की हरिवनमा रहेको सामुदायिक रेडियो सर्लाहीको अध्यक्ष समेत हुनुहुन्छ । त्यसैगरी गैर सरकारी संस्था महासंघ र नेपाल रेडक्रस सोसाईटीमा समेत उनी आवद्ध छन् ।