चियोचर्चो खबर
मलंगवा, माघ २०—उखु किसानको करोडौं रकम वर्षौंदेखि भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक (सञ्चालक) राकेश अग्रवाललाई ठगी लगायत मुद्धामा अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले पुनः सात दिनको म्याद थपिदिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका अग्रवाललाई अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले शुक्रबार पाँच दिनको र सोमवार थप सात दिनको म्याद दिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चियोचर्चो खबरलाई जानकारी दिए । बुधबार साँझ काठमाडौं त्रिपुरेश्वर स्थित आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई आवश्यक कार्बाहीका लागि विहिबार साँझ सर्लाही ल्याईएको थियो ।
अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौं प्रहरीले सर्लाही पठाएको हो ।
अग्रवाल विरुद्ध सर्लाहीका ३१ जना किसानले वर्षौंदेखि उखुको भुक्तानी नदिएको भन्दै किटानी जाहेरी दिएको र त्यसैको आधारमा उनलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
३६ जना किसानले लिखित उजुरी दिएका प्रहरी उपरिक्षक राठौरको भनाई छ ।अग्रवाल विरुद्ध ठगी, अपराधिक विश्वासघात र अपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी उपरिक्षक राठौरले जानकारी दिए ।
अग्रवाल विरुद्ध अझै सयौं किसानले उजुरी दिने सम्भावना रहेको सर्लाही प्रहरीको अनुमान छ । उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार किसानलाई १७ करोड रुपैयाँ दिन बाँकी छ । जसमध्ये हालसम्म १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ भुक्तानी भईसकेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
अन्नपूर्णले दक्षिणी क्षेत्र स्थित बरहथवा, बसबरिया, धनकौल, बलरा, गोडैता, विष्णु, रामनगर लगायत पालिकाका हजारौं उखु किसानको वर्षौंदेखिको भुक्तानी बाँकी राखेको छ । उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार त्यति देखिएपनि किसानहरुले दाबी गरेको अझै निकै रकम हुन सक्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।