पुस १८ –सर्लाही प्रहरीले आइतवार जिल्लाको दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायण खोलामा ८ बिघा भन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा भर्खरै सरुवा भएर आएका एसपी नरेशराज सुवेदीले हाजिर भएको केही साता नबित्दै गाँजा खेती नष्ट गर्ने अभियान थालेका हुन ।
गाँजा खेती नष्ट गर्न आईतवार जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट पनि इन्स्पेक्टरकै कमाण्डमा ४० जना प्रहरी टोली नारायण खोला पुगेको थियो ।
प्रहरी टोलीले नारायण खोलास्थित सत्रकठ्ठा क्षेत्रमा ८ बिघा बढीको तयारी हुन लागेको गाँजा फडानी गरेको हो ।
एसपी सुवेदीले आफू शुक्रबार जिल्लामा हाजिर हुनासाथ नारायण खोलामा कानूनद्वारा निषेध गरिएको गाँजाखेती भइरहेको सूचना पाएको र शनिबार आफै सुक्ष्म अनुसन्धानमा जाँदा सूचना बमोजिमकै गाँजा खेती भइरहेको देखेपछि आईतबार प्रहरी टोली पठाएर फडानी गर्न सुरु गरेको बताए ।
उनले अब निरन्तर प्रहरी पठाएर नारायण खोलामा भइरहेको प्रतिवन्धित गाँजा खेती नष्ट गर्ने अभियान चलाउने बताएका छन् । नारायण खोलामा हरेक वर्ष प्रहरी गएर गाँजा फाँड्ने गरेको छ ।
तर, पनि स्थानीयले गाँजाको खेती छाडेका छैनन् ।
सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरे क्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाको खेती गर्दै आइरहेका छन् ।
अहिले त्यहाँ डाडापाखाका बारीभरी गाँजा खेती छ । अन्न उत्पादनले दुई महिना पनि नधान्ने भएपति बाध्य भएर गाँजा खेतिमा लागेको एक स्थानीयले बताए । तयार हुनै लागेको गाँजा एक्कासी प्रहरी आएर नष्ट गरिदिँदा आफूहरु ठूलो मारमा परेको उनिहरुको गुनासो छ ।