कृष्ण थपलिया/लालबन्दी
पुस—१३,बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुली गरेको भन्दै लालबन्दीका उद्योगी, व्यापारी, व्यावसायी आन्दोलित भएका छन् । बुधवार (आज) चर्को व्याजदर र प्रतिकूल वैंकिङ नीतिका बिरुद्ध लालबन्दीका व्यापारी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
लालबन्दी उद्योग वाणिज्य संघको अगुवाईमा आज व्यापारीहरुले कारोवारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर,चालु रहेको ओभर ड्राफ्ट लोन यथावत राख,जिन्सी निर्यात बढाउ, नगद निर्यात बन्द गर,बैंक ब्याज सिंगल डिजिट कायम गर,एल सी को १०० प्रतिशत मार्जीन खारेज गर लेखिएको प्लेकार्डका साथ र्याली निकालेका थिए ।
विहान ११ः३० मा निकालिएको र्याली बजारबाट जनवादी चोक,डुमडुमे पुल हुदै ट्राफिक बिट अघि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी,होटल व्यवसायि संघका अध्यक्ष हिराकाजी योन्जन,उद्योग वाणिज्य संघ लालबन्दीका निर्वतमान अध्यक्ष कल्याणकुमार जोसीले सम्बोधन गरेका थिए ।
उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलमपाखीले व्यापारी, व्यावसायी अहिलेको अवस्थामा चुप लागेर बसे रोडमा पुग्ने अवस्था आउने बताए । व्यापारीका पीर मर्का नबुझी बैंकहरुले १० प्रतिशतमा आफुले लिएको ऋण १८ प्रतिशत सम्म ब्याज लिएर ६० प्रतिशत सम्म नाफा आर्जन गरेर कालोबजारी गरेको आरोप लगाए ।लोन लिएका कतिपय व्यवसायी बैंकले श्रृजना गरेको तनावका कारण हतोत्साहित भएका र कतिपयले आत्महत्या समेत गरेको बताए ।
मूल्यवृद्धिका कारण व्यावसाय चल्न नसकेको अवस्थामा बैंकले ब्याजदर बढाउनु दुःखको बिषय भएको वक्ताहरुले तर्कगरे । सुरुमा एउटा एग्रिमेन्ट गर्ने र बिस्तारै ब्याजदर बढाउँदै लैजाने गर्नाले व्यापारी भाग्ने, पलायन हुने र डिप्रेसनमा जाने सम्भावना बढेको र्याली सहभागी व्यावसायीको गुनासो गरे ।
बैंकहरुले ऋणीलाई ब्याज निर्धारण गर्दा तोकेको प्रिमियम दरमा परिवर्तन गर्न नपाउने नीति भएपनि बैंकले मनपरि गर्दै आएको कारोबारको,२० प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले व्यावसायीहरु अप्ठ्यारोमा परेको बिरोध र्यालीमा सहभागी व्यावसायीले बताए ।