लालबन्दी, पुस १२ – लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीले निर्वाचित भएपछि कार्यभार सम्हाल्ने क्रममा गरेको पहिलो निर्णय कार्यान्वयन गरेका छन् ।
उनेले कार्यभार सम्हाल्ने क्रममा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नेपाल सरकारले दिँदै आएको रकमबाहेक नगरको तर्फबाट थप ५ हजार रुपैयाँ प्रदान गर्ने पहिलो निर्णय गरेका थिए । सोही निर्णय अनुसार मंगलवार पहिलो पटक प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा ८ जना सुत्केरी महिलालाई सुत्केरी पोषण खर्चबापत जनही ५ हजार रुपैयाँ प्रदान गरेका हुन ।

सुत्केरी पोषण खर्च वितरणका लागि नगरपालिकाले कार्यविधि नै बनाएको छ । सो कार्यविधि अनुसार गएको साउनदेखि नगरपालिकाको वडा नं. ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमे, वडा नं. १६ मा रहेको परवानपिुर स्वास्थ्य चौकी र वडा नं. १३ मा रहेको स्वास्थ्य चौकी पत्थरकोटमा गएर प्रसुति गराएका सुत्केरीलाई सुत्केरी पोषण खर्च वितरण गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यि तीनवटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर संचालनमा छन् । लालबन्दी नगरपालिका भित्रका सुत्केरीले मात्रै ५ हजार रुपैयाँ सुत्केरी पोषण खर्च पाउने छन् ।
नगरप्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य शाखा र प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीको उपस्थितिमा सुत्केरी पोषणा खर्च वितरण गर्न सुरु गरिएको हो ।
लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले नेपाल सरकारले दिने यातायात खर्चबापतको एक हजार र नगरले दिने ५ हजार सुत्केरी पोषण खर्चसहित ६ हजार रुपैयाँ पाउने बताए ।
नगरको यो निर्णयपछि घरमा हुने प्रसुति न्यूनिकरण भई स्वास्थ्य संस्थामा आएर प्रसुति गराउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।