सर्लाही,पुस-७,जिल्लाको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न आगो तापिरहँदा हरिवन नगरपालिका–३, बस्ने टीकाराम रखालकी श्रीमती ५५ वर्षीया गोरीमाया रखालको मृत्यु भएको हो ।
हरिवन ३ का तुलसी हुमागाइंँले संचालन गरेको चिरान मिलमा कुरुवाको काम गर्दै आउनुभएका टीकारामकी श्रीमती गोरीमाया हिजो बेलुका आगोले शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते भएकी थिइन् ।
उनीकाे प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा आज(बिहिवार) मध्यान्ह १२ बजेतिर ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
आर्थिक रुपमा अतिविपन्न टीकारामले चिरान मिलमा काम गरेरै परिवारको गुजारा टार्दै आएका थिए । गएसाँझ उनले काम गरेकै ठाउँमा श्रीमती आएका बेला घटना भएको हो । स्थानीयका अनुसार गोरीमायाले प्रायः अत्यधिक मदिरा सेवन गर्थीन। श्रीमान शौचालय गएका बेला गोरीमायाले लगाएको कपडाबाट शरीरमा अचानक आगो सल्किएको र तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी दिए । उनका अनुसार मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंवामै राखिएको छ । अहिले कठ्याङग्रिदो चिसोमा आगो बालेर ताप्दा यस प्रकारको अप्रिय घटना हुने जोखिम हुने भएकाले सावधानी अपनाउन सर्लाही प्रहरीले आग्रह गरेको छ । यसैबीच, हरिवन नगरपालिका–१, कैलाशपुरीमा रहेको मानव सेवाश्रममा करिव दुई वर्षदेखि बस्दै आएका एक पुरुष सुतेकै स्थानमा मृत फेला परेका छन् । अन्दाजी ४५ वर्षीय मनोज शर्मा आज बिहान सुतेकै स्थानमा मृत फेला परेका हुन । उनकाे शव पनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ ।