सर्लाही,पुस-१, जिल्लाको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली लागेर एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।
घाइते हुनेमा ३२ वर्षीय सशस्त्र प्रहरीका जवान सुरेश साह रहेका छन् ।
साथीहरुसँगै बसेर खाजा खाइरहेका साहलाई शुक्रबार साँझ ७ बजेति गोली प्रहार भएको हाे । पाखुरामा एक गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवान साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए ।
साहको अवस्था सामान्य छ । घटनामा संलग्न रहेको आशंकामा रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता विजय यादवका अनुसार घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको छ । घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी छ ।