प्रकाश मैनाली
बागमती, माघ १८ —सर्लाहीमा राष्ट्रिय परिचयपत्रको लागि तथ्याङ्क सङ्कलन कार्य सुरु भएको छ । आईतवार बागमती नगरपालिकाबाट तथ्याङ्क सङ्कलन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुभारम्भ गरिएको हो ।
सबै नगरवासीको विवरण दर्ता गर्नका लागि बागमती नगरपालिकाको १२ वटै वडा कार्यालयहरुमा कर्मचारी खटाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्ने छन् । नागरिकलाई प्रदान गर्ने सेवा सुविधा एकिकृत प्रणालिमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्याङ्क भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको पौडेलले बताए ।
राष्ट्रिय परिचयपत्र भएपछि अनेकन परिचयपत्र (लाइसेन्स, प्यान कार्ड, विवाह दर्ता) बोक्नु पर्ने छैन् । अब पाइने राष्ट्रिय परिचयपत्रमा अहिलेका यी सबै परिचयपत्रमा उल्लेख गरिएका विवरण हुन्छ,“ प्रमुख जिल्ला अधिकारी पौडेलले भने” ।
पहिलो चरणमा बागमती नगरपालिकाबाट सुरु गरेर क्रमश ः २० वटै पालिकाका वडाहरुमा कर्मचारी पठाएर विवरण सङ्कलन गरिने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरबारस्थित कर्मचारीलाई परिचयपत्र वितरण गरेको थियो । चालू आर्थिक वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्रको लागि तथ्याङ्क सङ्कलन कार्य सुरु गर्ने सरकारको लक्ष्य छ ।