चक्रघट्टा, मंसिर २६ – सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा जग्गाको विवादमा कुटपीट हुँदा एक वृद्धाको मृत्यु भएको छ ।
सोमबार दिउँसो भएको सो घटनामा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो ।
प्रहरीले कुटपीटमा संलग्न सागर देवीकै देवर ६५ वर्षीय पुकार रायलाई नियन्त्रणमा लिएको छ ।
पुकारका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनिता देवी राय भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पुकार, छोरा जितेन्द्र र बुहारी अनिता मिलेर सागर देवीमाथि कुटपीट गरेको बुझिएको छ ।
घटना लगत्तै प्रहरीले ६५ वृद्ध पुकारलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मलंगवा लगेको जनाएको छ ।
सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलका अनुसार पुकार र उनका दाईबीच जग्गाको विषयमा पुरानो विवाद रहेको बुझिएको छ ।
मृतक वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । मृतकका आफन्तले अहिले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका प्रहरीले जनाएको छ ।