जनार्जन खत्री /लालबन्दी- सर्लाहीको लालबन्दीबाट संचालन भइरहेको सामुदायिक रेडियो एकताको आज १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
रेडियोको नवनिर्मित कार्यालय भवन लालबन्दी नगरपालिका ५ मेजरगन्जमा रेडियोका अध्यक्ष गोविन्द बहादुर महतको अध्यक्षता एवम् सर्लाही क्षेत्र नम्वर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि चौधरीले रेडियोको विकासका लागि आफूले आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नवनिर्वाचित सांसद चौधरीले आफू रेडियोको नियमित श्रोत रहेको बताउँदै रेडियोको थप प्रगतिको शुभकामना व्यक्त गरे ।
कार्यक्रमका विशिष्ठ अतिथि ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले आफूलाई यहाँसम्म ल्याइपुर्याउन समाचार मार्फत रेडियोले अतुलयनीय योगदान पुर्याएकाले रेडियोको प्रगतिका लागि आफू सँदैव साथमै रहेको बताए । उनले आफू पनि रेडियोको सदस्य बनी आगामी दिनमा रेडियोको हितमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेल, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर शान्तराम कार्की, नेपाल प्रेस युनियन सर्लाहीका सभापति कृष्णप्रसाद थपलिया, उद्योग वाणिज्य संघ लालबन्दीका संस्थापक अध्यक्ष देविवन्धु थापा, प्याब्सन सर्लाहीका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर बोम्जनले शुभकामना मन्तव्य राखेका थिए।
यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, महासंघको प्रदेश सदस्य शंकर श्रेष्ठ, सशस्त्र प्रहरी बल हरिवन बेशका डीएसपी सुशील श्रेष्ठ, उद्योग वाणिज्य संघ लालबन्दीका उपाध्यक्ष महेशकुमार महतो, पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीकी अध्यक्ष भवानी कोइराला लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भवन निर्माणमा व्यक्तिगत तर्फबाट ५१ हजार १५१ रुपैयाँ सहयोग गर्ने समाजसेवी पुष्करप्रसाद घिमिरेलाई सम्मान–पत्रबाट र आफ्नो निर्वाचन क्षेत्र विकास कोषको रकमबाट रेडियोको भवन निर्माण गर्न १० लाख रुपैयाा सहयोग गर्ने प्रदेश सभा सदस्य बेची लुंगेलीलाई सम्मान–पत्रबाट सम्मान गरिएको छ । रेडियोले आफ्ना एक जना वर्ष उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै जाने जनाएको छ ।
संस्थाका सचिव विनोदकुमार थापाले स्वागत तथा व्यवस्थापक प्रकाश मैनालीले संचालन गरेको कार्यक्रममा रेडियोको गत आर्थिक वर्ष २०७८/०७९ को हरहिसाब सार्वजनिक समेत गरिएको छ । सभामा रेडियोका कोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक विष्णुप्रसाद चालिसेले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । रेडियो गएको वर्ष चैतदेखि लालबन्दी ५ मा निर्माण गरेको साँढे ४ तले भवनबाट प्रशारण भइरहेको छ । रेडियोले निकट भविष्यमै टेलिभिजन समेत संचालन गर्ने लक्ष्य लिएको छ । यसैबीच, कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले एक लाख, उद्योग वाणिज्य संघ लालबन्दीका उपाध्यक्ष महेशकुमार महतोले एक लाख र ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले ५१ हजार रुपैयाँ बराबरको शेयर खरिद गरेका छन् ।