सर्लाही,मंसिर -२३, जिल्लाकाे चन्द्रनगर गाउँपालिकाले २० वर्ष पुगे छछि विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरुप ५० हजार रुपियाँ प्रदान गरेको छ ।


आज (शुक्रवार) पहिलो पटक चन्द्रनगर गाउँपालिका–२, बबरगञ्ज दनुवारी टोल बस्ने हरदेव कुँमर दनुवारकी छोरी रेणुकुमारी सिंहलाई गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले गाउँपालिकाको तर्फबाट विवाह मण्डपमै पुगेर ५० हजार रुपियाँको चेक हस्तान्तरण गरेका हुन ।
२२ वर्षीया रेणुकुमारीले गाउँकै दुर्गा खोभारी माध्यमिक विद्यालय बबरगञ्जबाट कक्षा १२ उर्तिण गरेकी छिन् ।
गाउँपालिका अध्यक्ष महतोले अब पालिकाभित्रका अन्य छोरीहरुले पनि यसैगरी कक्षा १२ उर्तिण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गरे गाउँपालिकाले विवाह कार्यक्रममै गएर ५० हजार रुपियाँ प्रदान गर्ने बताए।
बालविवाह अन्त्य र छोरीहरुको उच्च शिक्षामा पहुँच बढाउने उद्देश्यले पदबहाली गर्दा नै यो कार्यक्रम लागू गर्ने पहिलो निर्णय गरेको गाउँपालिका अध्यक्ष महतोले बताए।
२२ वर्ष पुग्नुभएकी रेणुकुमारीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल बस्ने २९ वर्षीय जितेन्द्र सिंहसँग बिना दाईजो विवाह भएको हो ।
रेणुकुमारीका बुवा हरदेव कुँमर दनुवारले छोरीलाई दाईजो नदिइ विवाह गरेको बताए। आफूले यसअघि जेठी छोरीको पनि दाईजो नदिइ विवाह गरेको कुँमरले बताए ।