लालबन्दी,मङ्सिर- १९, सर्लाहीकाे लालबन्दीमा भाषा आयोग नेपाल र लालबन्दी नगरपालिका बिच भाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्‍पन्‍न भएको छ।
लालबन्दी नगरपालिका बहुभाषिक, बहुसांस्कृतिक पहिचान बोकेको नगरपालिका भएकाले शिक्षा, आम सञ्चारलगायतका क्षेत्रमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने  भाषा आयोगका सदस्य  गोपाल अश्कले बताए ।


स्थानीय सरकार स्थानीय जनताको नजिकको सरकार भएकाले आफूहरू यस विषयमा अत्यन्त गम्भीर रहेको र आवश्यक भाषिक नीति लिएर अघि बढ्ने छलफलका क्रममा लालबन्दी नगर प्रमुख बासुदेव अधिकारीले बताए।
कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रशासकीय प्रमुख तारानाथ लुइटेलले नेपालको संविधान,२०७२ ले प्रदत्त गरेका अधिकारहरू नगरभित्र क्रियान्वयनका चरणमा लैजान जनशक्तिको अभाव रहेको बताउदै, थुप्रै चुनौतीहरू विद्यमान रहेका र त्यसलाई क्रमश: पार लगाउँदै जाने बताए ।
कार्यक्रममा भाषा आयोगका सचिव जयराम अधिकारीले नगरपालिकाले शिक्षा तथा आम सञ्चारका क्षेत्रमा नीतिगत ढङ्‌गले बहुभाषिक नीति लिएर अघि बढेमा प्राविधिकलगायतका क्षेत्रमा भाषा आयोगले भरपूर सहयोग गर्ने बताए ।
भाषा संरक्षण, विकास र प्रवर्धनमा नगरपालिकालाई सहयोग गर्न भाषा आयोग सदैव तयार रहेको सचिव अधिकारीले बताए ।
लालबन्दी नगर वाङ्‌मय परिषद्, सर्लाहीको समन्‍वयमा सम्‍पन्‍न उक्त कार्यक्रममा भाषा आयोगका सदस्य  गोपालप्रसाद सर्राफ (गोपाल अश्क), भाषा आयोगका सचिव जयराम अधिकारी तथा विक्रम राईकाे उपस्थिति रहेको थियो ।
लालबन्दी नगरपालिकाका तर्फबाट लालबन्दी नगर प्रमुख बासुदेव अधिकारी, उप-प्रमुख कल्पना पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, शिक्षा अधिकृत लक्ष्मी शिवाकोटी, अधिवक्ता विनु अधिकारी ईश्‍वरपुर नगरपालिकाका उपसचिव हरि दाहाल लगाएतकाे उपस्थिति रहेको लालबन्दी नगर वाङ्‌मय परिषद् जनाएको छ ।
लालबन्दी नगर वाङ्‌मय परिषद्को समन्वयमा सम्‍पन्‍न   उक्त कार्यक्रममा परिषद्का अध्यक्ष अच्युत अधिकारी र सचिव सुमन घिमिरे ´अग्रिम `सहभागी भएका थिए ।