लालबन्दी, मंसिर १७ –मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई शनिबार बिहान सर्लाहीको पत्थरकोटस्थित एक रिसोर्टमा सुतेकै स्थानमा मृत फेला परेका छन् ।
नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा विशिष्ठ अतिथिका रुपमा सहभागी हुन शुक्रबार नै आएका भट्टराई शनिबार बिहान लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित रिसोर्टको कटेजमा मृत फेला परेका हुन् । भट्टराई कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ जनकपुरबाट पत्थरकोट आइपुगेका थिए ।
बेलुका खाना खाएर सुत्नका लागि कटेजमा गएका भट्टराई बिहान ओछ्यानमै मृत फेला परेका नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले जानकारी दिए । शनिबार बिहान ९ बजेपछि कार्यक्रम सुरु गर्न लाग्दा भट्टराई नआएपछि कोठामै गएर हेर्दा उनी मृत फेला परेका हुन् ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका–७, स्थायी घर भएका ६७ वर्षीय भट्टराई मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रेस काउन्सिलको कार्यालयमा बस्दै आएका थिए । मृतक भट्टराईको शव घटनास्थलको प्रकृति मुचुल्का गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले बताए ।
शव पोष्टमार्टमपछि शनिबार साँझ नै भट्टराईको गृह जिल्ला सप्तरी पठाइसकिएको छ । अस्पताल परिसरमा पत्रकार महासंघको झण्डा ओढाएर भट्टराईप्रति श्रद्धान्जली व्यक्त गरियो ।
भट्टराई मधुमेह र उच्च रक्तचापको बिरामी रहेको बुझिएको छ । उनको हृदयघात ‘हट अट्याक’ बाट निधन भएको आशङ्का गरिए पनि पुष्टी भने हुन सकेको छैन् ।
नेपाल पत्रकार महासङ्घ सप्तरीका संस्थापक अध्यक्ष एवं महासङ्घको पूर्व केन्द्रीय उपाध्यक्ष भट्टराई करिव चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए । मधेश प्रदेश सरकारले भट्टराईलाई डेढ वर्षअघि मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरेको थियो ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्तीमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै भट्टराईको निधनले मधेश प्रदेशको पत्रकारिता क्षेत्रलाई अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन् । भट्टराईको निधनपछि पत्रकार महासङ्घ सर्लाहीले केही दिनका लागि साधारण सभा स्थगित गरेको छ ।
शनिबार बिहान कार्यक्रमको अतिथिका रुपमा लालबन्दीका मेयर बासुदेव अधिकारी, मधेश प्रदेशका संचार सचिव रामकुमार महतो, सहायक सीडीओ हरिप्रसाद अधिकारी, डीएसपी विजय श्रेष्ठलगायत पुगेपछि कार्यक्रमको शुभारम्भ गर्न खोज्दा मात्रै भट्टराईलाई मृत फेला पारिएको हो । घटनापछि मधेशको सञ्चार क्षेत्र र सञ्चारकर्मी स्तब्ध भएका छन् ।